images
images
  • गगन थापाले सभापति पदबाट राजीनामा नदिने

    काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा नदिने भएका छन् ।

    प्रतिनिधिसभा निर्वाचनमा पार्टीले पराजय व्यहोरेपछि कांग्रेसभित्र सभापति थापाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने सवाल उठेपनि शुभेच्छुकहरुको सुझावअनुसार थापा राजीनामाभन्दा चुनावी समिक्षातर्फ केन्द्रीत भएका छन् ।

    फागुन २१ गते सम्पन्न निर्वाचनमा कांग्रेसले देशभरका १ सय ६५ मध्ये १८ निर्वाचन क्षेत्रमा मात्रै प्रत्यक्ष जित हासिल गर्यो ।

    सभापति थापा स्वयं सर्लाही ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेश सिंहसँग १२ हजार ८ सय ५७ मतले पराजित भए ।

    कांग्रेसका चुनाव लडेका कोहीपनि पदाधिकारीले जित हासिल गर्न सकेकन् । समानुपातिकमा पनि कांग्रेसको जनाधार निकै संकुचित भयो ।

    २०७९ को निर्वाचनको तुलनामा कांग्रेसले समानुपातिकतर्फ ९ लाख ६६ हजार ५३ मत गुमाएको छ ।

    संसदमा दोस्रो शक्ति भएपनि २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा कांग्रेसका ३८ जना मात्रै निर्वाचित भएका छन् ।

    यिनै कारणले सभापति थापामाथि राजीनामाको दवाव बढ्दो छ ।

    विश्वले रोकेको राजीनामा
    कांग्रेस सभापति थापा सर्लाही ४ को मतपरिणाम सार्वजनिक हुनेबित्तिकै सभापतिबाट राजीनामा गर्ने मुडमा थिए ।

    उनले पार्टीको हारको नैतिक जिम्मा आफूले लिँदा दीर्घकालमा पार्टीलाई लाभ हुने विश्वास लिएका थिए ।

    यसबारे उपसभापति विश्वप्रकाश शर्मासँग गगनले परामर्श गरेका थिए ।

    फागुन २५ मा भएको भेटमा थापाले राजीनामा दिन चाहेपनि उपसभापति शर्माले नदिन आग्रह गरे ।

    पदीय मर्यादामा तल भएपनि सभापति थापा उपसभापति सभालाई ‘दाई’ भन्छन् ।

    दाईभाईको सल्लाहपछि नै सभापति थापा राजीनामा नदिने मनस्थितिमा पुगेका हुन् ।

    ‘विश्वदाईले भनेपछि गगनदाईले कतिपय कुरा नाई भन्न सक्नुहुन्न । राजीनामाको विषयमा पनि उहाँले विश्वदाईको सुझाव लिनुभयो’, उपसभापति शर्मा निकट एक नेताले भने ।

    विशेष महाधिवेशनपछि कांग्रेसको एउटा तप्का मूलधारमा नरहेको भन्दै थापाले पनि राजीनामा दिदा पार्टी नयाँ समस्यामा पर्नसक्ने ती नेताले बताए ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images