काठमाडौं- नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ यही चैत १२ मा गराउने तयारी भएको छ ।
समानुपातिकतर्फ निर्वाचित सदस्यहरूलाई बिहीबार निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्र दिँदैछ । बिहीबार नै निर्वाचन प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाउने तयारी पनि छ ।
यसको जानकारी आयोगले संघीय संसद् सचिवालयलाई पनि गराउँछ ।
निर्वाचन आयोगबाट जानकारी प्राप्त भएसँगै शपथका लागि मिति सार्वजनिक गर्ने तयारीमा रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार यी लगायतका विषय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल समेत गरिँदैछ ।
निर्वाचन आयोगबाट चैत ५ गते निर्वाचन प्रतिवेदन प्राप्त भएमा भोलिपल्टको पत्रिकामा शपथको सूचना निकाल्ने तयारी छ ।
चैत १२ गते शपथ गराउने तयारी छ । यो विषयमा राजनीतिक दलका प्रतिनिधिहरूसँग पनि छलफल हुने सचिवालयले जनाइएको छ ।























