काठमाडौं– देशभर आगामी तीन दिन मौसममा उल्लेखनीय परिवर्तन हुने देखिएको छ ।
मौसम पूर्वानुमान अनुसार २०८२ साल चैत ४ गतेदेखि ६ गतेसम्म हिमाली र पहाडी भू–भागमा बादल वृद्धि भई विभिन्न स्थानमा वर्षा, हिमपात तथा मेघगर्जन/चट्याङ्गको सम्भावना रहेको छ ।
बुधबार (चैत ४) दिउँसो देशको हिमाली क्षेत्रमा सामान्यतया बादल लाग्ने र बाँकी पहाडी तथा तराई क्षेत्रमा आंशिक बदली रहनेछ ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक/दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने मौसमविद्ले जनाएका छन् ।
रातिको समयमा कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य भू–भागमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ ।
सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा अन्य केही हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना छ ।
बिहीबार (चैत ५) देशका अधिकांश पहाडी तथा हिमाली भू–भागमा बदली रहनेछ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग र असिनासहित मध्यम वर्षा तथा हिमपात हुने अनुमान गरिएको छ ।
बागमती र कोशी प्रदेशका केही स्थानमा पनि हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ ।
शुक्रबार (चैत ६) पनि मौसम पूर्णरूपमा सुधार नहुने देखिएको छ ।
देशभर पहाडी र हिमाली क्षेत्रमा बदली कायम रहने र कर्णाली, सुदूरपश्चिम लगायत अन्य प्रदेशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना रहेको छ ।
रातिको समयमा देशभर सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने अनुमान छ ।
मौसमविद्हरूले मेघगर्जन, चट्याङ्ग तथा असिनाबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेका छन् ।
विशेषगरी हिमाली र पहाडी क्षेत्रमा यात्रा गर्ने, कृषिकर्ममा संलग्न तथा खुला स्थानमा रहनेहरूलाई सावधानी अपनाउन सुझाव दिइएको छ ।























