काठमाडौं– रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसदहरूलाई कडा सन्देश दिँदै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश–केन्द्रित राजनीति गर्न आग्रह गरेका छन्। उनले कानुन निर्माणको जिम्मेवारीलाई गम्भीरतापूर्वक लिन र जनताको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पार्ने गरी काम गर्न निर्देशन दिएका छन्।
लामिछानेले सांसदहरूलाई सम्बोधन गर्दै भने, “नेपाली जनताले हामीलाई काँचुली फेर्न अभिमत दिएका हुन्। हामी कानुन बनाउन आएका हौँ। त्यो कानुनले जनताको घरमा पानी, बिजुली र इन्टरनेट पुर्याउनुपर्छ।” उनले कानुन निर्माणमा ढिलाइ भएकोप्रति असन्तुष्टि जनाउँदै संविधान कार्यान्वयनका लागि आवश्यक ऐनहरू अझै नबनेको उल्लेख गरे।
उनले बहुमत प्राप्त भइसकेपछि कुनै बहाना नचल्ने स्पष्ट पार्दै अबको अवरोध केवल ‘नियत’ मात्रै हुन सक्ने बताए। “अब हामीलाई अड्काउने भनेको हाम्रो आफ्नै नियत हो,” उनले भने।
“शक्ति होइन, जिम्मेवारीको महसुस गरौँ”
लामिछानेले राजनीतिक शक्ति प्राप्त गरेपछि आउने अहंकारप्रति सचेत गराउँदै जनताको अपेक्षा पूरा गर्न नसके पुराना दलहरूको भन्दा पनि खराब अवस्था आउने चेतावनी दिए। “जनताले पुराना दललाई ३५–३६ वर्ष कुर्नुभयो, हामीलाई ३६ महिना पनि कुर्नुहुन्न,” उनले भने।
उनले गुटबन्दी, पदलोलुपता र व्यक्तिगत महत्वाकांक्षाबाट टाढा रहन आग्रह गर्दै “म कहाँ हुन्छु?” भन्ने सोच त्याग्न आग्रह गरे। “यो देशले हाम्रो व्यक्तिगत सपना बोक्दैन, हामीले देशको सपना बोक्नुपर्छ,” उनले स्पष्ट पारे।
बिचौलिया र स्वार्थ समूहप्रति कडा चेतावनी
रास्वपा सभापति लामिछानेले बिचौलियाहरू र स्वार्थ समूहहरूको प्रभावबाट जोगिन सांसदहरूलाई सचेत गराए। उनले सरकार बनेको दिनदेखि नै त्यसलाई गिराउने प्रयास हुने गरेको अनुभव सुनाउँदै पार्टीभित्र फुट ल्याउने प्रयासहरू भइरहेको बताए।
“हामीलाई फुटाउने, गलत बाटोमा लैजाने प्रयासहरू भइरहेका छन्। तर समस्या तब आउँछ, जब हामी आफैँ स्वार्थको बन्दी बन्छौँ,” उनले भने।
अनुशासन र ‘राइट टु रिकोल’ लागू हुने
लामिछानेले पार्टीभित्र अनुशासनमा कुनै सम्झौता नहुने स्पष्ट पार्दै ‘राइट टु रिकोल’ को व्यवस्था कडाइका साथ लागू गरिने जानकारी दिए। स्वतन्त्रता प्रयोग गर्न पाइने तर अनुशासनभित्र रहेर मात्र प्रयोग गर्नुपर्ने उनको भनाइ थियो।
जनतासँग नजिक रहन निर्देशन
उनले सांसदहरूलाई संसदभन्दा बाहिर जनतामाझ बढी समय बिताउन, गाउँ–टोल र चिया चौतारोमा उपस्थित हुन आग्रह गरे। “सांसद बनेपछि स्वतः ज्ञान आउँदैन, अझ बढी अध्ययन र अनुसन्धान आवश्यक हुन्छ,” उनले भने।
सरकारी सेवाको गुणस्तर सुधारका लागि सम्भव भएसम्म सरकारी अस्पतालमै उपचार गर्नसमेत उनले सुझाव दिए।
सामाजिक सञ्जाल र अभिव्यक्तिमा संयम
लामिछानेले पार्टीका नेता–कार्यकर्तालाई सामाजिक सञ्जालमा जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गर्दै असहिष्णु र आक्रामक व्यवहारले पार्टीको छवि बिगारेको स्वीकार गरे। “अब त्यो छविबाट बाहिर निस्कनुपर्छ,” उनले भने।
“यो जित रास्वपाको होइन, देशको हो”
सम्बोधनको अन्त्यमा उनले रास्वपाको जितलाई देशको जितका रूपमा व्याख्या गर्दै जनताको विश्वासलाई व्यवहारमा उतार्नुपर्ने बताए। निजी क्षेत्र, प्रवासी नेपाली र अन्तर्राष्ट्रिय समुदायलाई पनि नेपालमा लगानीका लागि आश्वस्त पार्दै उनले सुशासन र आर्थिक समृद्धिका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
“हामी इतिहास लेख्ने अवसरमा छौँ। यो उत्सव होइन, जिम्मेवारी हो,” उनले भने।























