images
images
  • वाग्ले अर्थ–खनाल परराष्ट्रमा पक्का : गृहमा बालेनको एसम्यानको खोजी, रवि असन्तुष्ट

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वमा बन्ने नयाँ सरकारका लागि दुई मन्त्रीको नाम लगभग टुंगिएको छ ।

    पार्टी सभापति रवि लामिछाने र प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाहबीच डा. स्वर्णिम वाग्लेलाई अर्थमन्त्री र शिशिर खनाललाई परराष्ट्रमन्त्री बनाउने सहमति भएको स्रोतले जनाएको छ ।

    बालेन शाहले मन्त्रिपरिषद् गठन गर्दा भागबण्डाभन्दा क्षमता र विज्ञतालाई प्राथमिकता दिने रणनीति लिएका छन् ।

    सोही आधारमा वाग्ले र खनालको नाममा सहमति जुटेको बताइन्छ ।

    दुवै नेता रास्वपाबाट लगातार दोस्रोपटक प्रत्यक्ष निर्वाचित भएका हुन्, जसले उनीहरूको दाबीलाई बलियो बनाएको छ ।

    डा. वाग्ले एक प्रख्यात अर्थशास्त्री हुन् ।

    उनले अष्ट्रेलियन नेसनल युनिभर्सिटीबाट अर्थशास्त्रमा पीएचडी, लन्डन स्कुल अफ इकोनोमिक्सबाट स्नातक र हार्वर्ड विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् ।

    उनी विश्व बैंकमा वरिष्ठ अर्थशास्त्री र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) मा एशिया–प्रशान्त क्षेत्रका लागि मुख्य आर्थिक सल्लाहकारका रूपमा काम गरिसकेका छन् ।

    साथै, राष्ट्रिय योजना आयोगमा सदस्य र उपाध्यक्षको जिम्मेवारी पनि सम्हालेका थिए ।

    नेपाली कांग्रेस छाडेर रास्वपामा प्रवेश गरेका वाग्ले तनहुँ–१ बाट उपनिर्वाचन जित्दै संसद्मा आएका थिए र हालै पुनः निर्वाचित भएका छन् ।

    उनलाई सम्भावित अर्थमन्त्रीका रूपमा पार्टीले पहिले नै अघि सारेको थियो ।

    प्रारम्भमा बालेन शाह केही हदसम्म अनिच्छुक देखिए पनि अन्ततः उनको अनुभव र विज्ञताका कारण सहमति भएको स्रोत बताउँछ ।

    परराष्ट्र मन्त्रालयका लागि शिशिर खनालको नाममा भने सुरुदेखि नै सहमति देखिएको छ ।

    पार्टीको विदेश विभाग सम्हालिरहेका खनालले अमेरिकाको युनिभर्सिटी अफ ब्रिजपोर्टबाट इन्टरनेसनल पोलिटिकल इकोनोमी एन्ड डिप्लोमेसीमा स्नातक र युनिभर्सिटी अफ विस्कोन्सिनबाट इन्टरनेसनल पब्लिक अफेयर्समा स्नातकोत्तर गरेका छन् ।

    काठमाडौं–६ बाट लगातार निर्वाचित खनाल शालीन र समन्वयकारी नेताका रूपमा चिनिन्छन् ।

    रास्वपा र बालेन समूहबीचको एकतामा उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

    यसअघि २०७९ सालमा प्रचण्ड नेतृत्वको सरकारमा उनी शिक्षामन्त्री बनेका थिए ।

    यता गृहमन्त्रीको टुंगो भने लाग्न सकेको छैन ।

    बालेन शाह गृह मन्त्रालयमा आफ्नै विश्वासपात्र राख्न चाहन्छन् ।

    उनले सुनिल लम्साललाई अघि सारेको स्रोतले जनाएको छ ।

    तर, सभापति लामिछाने भने पार्टी उपसभापति डीपी अर्याललाई गृहमन्त्री बनाउन चाहन्छन् ।

    दुवै पक्षबीच सहमति नजुटेमा गृह मन्त्रालय प्रधानमन्त्री मातहतमै राख्ने विकल्पसमेत छलफलमा रहेको स्रोतको भनाइ छ ।

    यस्तो अवस्थामा एक जना गृहराज्यमन्त्री नियुक्त गरेर प्रधानमन्त्री स्वयंले मन्त्रालय सम्हाल्ने सम्भावना पनि रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images