काठमाडौं– सरकार गठन केही दिनपछि धकेलिएको छ, र अब १५ चैतभित्र मात्रै नयाँ प्रधानमन्त्री नियुक्त हुने देखिएको छ ।
निर्वाचन आयोगले अन्तिम परिणाम राष्ट्रपतिसमक्ष बुझाएपछि कानुनी रूपमा सरकार गठन प्रक्रिया तत्काल सुरु गर्न सकिने भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फरक रणनीति अपनाएको छ ।
रास्वपाले यसपटक पुरानो अभ्यास तोड्दै पहिला नवनिर्वाचित सांसदहरूको शपथ गराउने र त्यसपछि मात्र सरकार गठन प्रक्रिया अगाडि बढाउने योजना बनाएको छ ।
यसले सरकार गठनको समयरेखा केही दिन पछाडि सरेको छ ।
२१ फागुनमा सम्पन्न निर्वाचनपछि सरकार गठनको तयारी सुरु भए पनि औपचारिक प्रक्रिया अझै सुरु भएको छैन ।
यसअघि १० चैतभित्र नयाँ सरकार बन्ने अनुमान गरिएको थियो। तर, रास्वपाको नयाँ कार्ययोजनाका कारण कम्तीमा १३ चैतअघि प्रधानमन्त्री नियुक्ति नहुने निश्चित जस्तै देखिएको छ ।
संसद् सचिवालयले १२ चैतमा सांसदहरूको शपथ गराउने तयारी गरिरहेको छ ।
त्यसअघि निर्वाचन आयोगले ५ चैतमा राष्ट्रपतिलाई प्रतिनिधिसभा निर्वाचनको अन्तिम प्रतिवेदन बुझाउनेछ। प्रतिवेदन बुझाएपछि राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।
यद्यपि, संविधानअनुसार सरकार गठनका लागि सांसदहरूको शपथ अनिवार्य शर्त होइन ।
संविधानको धारा ७६ अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न सक्ने प्रावधान छ ।
तर, धारा ८८ ले भने सांसदहरूले सदनको बैठकमा भाग लिनुअघि शपथ लिनुपर्ने व्यवस्था गरेको छ ।
रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार शपथपछि मात्रै संसदीय दलको बैठक बसेर नेता चयन गरिनेछ, जसपछि प्रधानमन्त्री नियुक्तिको प्रक्रिया अगाडि बढ्नेछ ।
उनका अनुसार अहिले कुनै असामान्य अवस्था नभएकाले सामान्य प्रक्रियाअनुसार अघि बढ्न चाहिएको हो ।
यदि १२ चैतमा शपथ सम्पन्न भएमा १३ चैतमा संसदीय दलको नेता चयन हुने र त्यसपछि राष्ट्रपतिसमक्ष जानकारी गराइनेछ ।
त्यसपछि १४ वा १५ चैतसम्म नयाँ प्रधानमन्त्री नियुक्त हुन सक्ने रास्वपाको अनुमान छ ।
रास्वपाका प्रवक्ता मनीष झाले पनि सरकार गठनमा केही समय लाग्ने संकेत गरेका छन् ।
उनका अनुसार अबको केही दिनभित्र पार्टीको केन्द्रीय समिति बैठक बसेर आवश्यक निर्णयहरू लिने तयारी छ ।























