काठमाडौं– २१ फागुनमा सम्पन्न निर्वाचनको नतिजा सार्वजनिक भएसँगै परम्परागत राजनीतिक दलहरूभित्र नेतृत्वप्रति असन्तोष चुलिएको छ ।
अप्रत्याशित र लज्जास्पद पराजयपछि पार्टी अध्यक्ष तथा सभापतिहरूले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने माग तीव्र बन्दै गएको छ ।
विशेषतः नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्र नेतृत्वको औचित्य, रणनीतिक कमजोरी र आगामी दिशा दयगतमा गम्भीर बहस सुरु भएको छ ।
विशेष महाधिवेशनमार्फत सभापति बनेका गगनकुमार थापा स्वयं निर्वाचनमा पराजित भएपछि कांग्रेसभित्र दबाब झनै बढेको छ ।
यद्यपि, हालसम्म पार्टीले औपचारिक रूपमा निर्वाचनको समीक्षा प्रक्रिया अघि बढाउन सकेको छैन ।
थापा निकट नेताहरूले तत्काल राजीनामा आवश्यक नरहेको तर्क गरिरहेका छन् भने संस्थापन इतर समूहले पराजयको पूर्ण जिम्मेवारी लिँदै सभापतिले पद त्याग गर्नुपर्ने माग अघि सारेका छन् ।
कांग्रेसका नेता तथा राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले विशेष महाधिवेशनकै कारण पार्टीले पराजय व्यहोरेको दाबी गर्दै थापाले राजीनामा दिनुपर्ने बताएका छन् ।
उनले जनताबाट प्राप्त जनादेशलाई सम्मान गर्दै अब नियमित १५औँ महाधिवेशनतर्फ जानुपर्ने धारणा राखेका छन् ।
साथै, विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको उनको तर्क छ ।
यस्तै, कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पनि विशेष महाधिवेशनलाई अनुचित ठहर गर्दै पार्टीभित्रको विवादसँग सम्बन्धित मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको स्मरण गराएका छन् ।
उक्त मुद्दाको छिटो टुंगो लगाउनुपर्ने भन्दै उनले त्यसले पार्टीको भावी दिशालाई निर्धारण गर्ने बताएका छन् ।
उता, एमालेभित्र भने केपी शर्मा ओली लाई पितृशोक परेकाले कांग्रेसजस्तो चर्को बहस देखिएको छैन ।
तथापि, नेतृत्वले जनमतबाट अस्वीकृति पाएको भन्दै विकल्प दिनुपर्ने आवाज भने उठ्न थालेको छ ।
पार्टीभित्र योगेश भट्टराई, सुरेन्द्र पाण्डे, रचना खड्का, उषाकिरण तिमिल्सिना लगायतका नेताहरूले नेतृत्वमाथि प्रश्न उठाउँदै राजीनामाको माग गरिरहेका छन् ।
यता, अर्को कम्युनिस्ट दल भने नेतृत्व परिवर्तनको विषयमा अहिलेसम्म मौन देखिएको छ, जसले राजनीतिक वृत्तमा थप चासो उत्पन्न गरेको छ ।























