काठमाडौं- इरानका राष्ट्रिय सुरक्षा परिषदका प्रमुख अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको छ।
सोमबार इसराइलको हमलमा उनी मारिएको इरान र इसराइल दुवै पक्षले पुष्टि गरेको हो।
लारिजानी मुलुकको सुरक्षा र रणानीति बनाउने निकाय सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका प्रमुख थिए। मंगलबार परिषद्ले विज्ञप्ती जारी गरी लारिजानीको मृत्यु भएको पुष्टि गरेको हो।
यसअघि इसराइली रक्षामन्त्री इसराइल कात्जले इसराइली आक्रमणबाट लारिजानी मारिएको दाबी गरेका थिए।
युद्ध सुरू भए यता इरानमा सर्वोच्च नेता आयातोल्लाह अली खामेनीपछि उच्च तहका व्यक्तिको हत्या भएको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले जारी गरेको विज्ञप्तिअनुसार सोमबार राति भएको आक्रमणमा लारिजानीसँगै उनका छोरा र उनका सहायक अलीरेजा बायात पनि मारिएका छन्।
लारिजानी इरानको सत्ता संरचनाभित्र प्रभावशाली तथा व्यवहारिक नेताका रूपमा चिनिन्थे।
इसराइलले इरानका अन्य सुरक्षा अधिकारीहरूलाई पनि निशाना बनाएको जनाएको छ।
इरानी अर्धसैनिक बल मसिज मिलिसियाका प्रमुख कमान्डर घोलामरेजा सोलेमानी पनि मारिएको बताइएको छ। इसराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले थप आक्रमण जारी रहने संकेत दिएका छन्।
तीन साताभन्दा बढी समयदेखि जारी अमेरिका–इजरायल युद्ध झन् क्षेत्रीय द्वन्द्वतर्फ फैलिँदै गएको छ।
इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनेईले युद्धविराम वा तनाव घटाउने प्रस्ताव अस्वीकार गरेको उच्च इरानी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ। उनी इसराइल र अमेरिका पछि नहटेसम्म शान्ति सम्भव नहुने पक्षमा रहेको ती अधिकारीले बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने सहयोगी देशहरूले पर्याप्त सैन्य साथ नदिएको भन्दै असन्तुष्टि जनाएका छन्।


विश्व खबर 


















