काठमाडौं- इरानमा खामेनीसहित ४० भन्दा बढी अधिकारीहरू मारिएपछि अमेरिकालाई यो युद्ध ठूलो सफलता जस्तो लागेको थियो।
तर १७ दिनपछि अवस्था बदलिएको छ र युद्धको कुनै स्पष्ट अन्त्य देखिएको छैन।
इरानले जवाफमा होर्मुज स्ट्रेटको बाटोबाट हुने तेल आपूर्ति रोकिदिएको छ ।
यसले विश्वको अर्थतन्त्रमा ठूलो चोट पुर्याएको छ। ट्रम्पले अहिले आफ्ना सहयोगी नेटो देशहरूसँग होर्मुजको बाटो खुलाउन अपिल गरिरहेका छन्।
यद्यपि यी देशहरूले होर्मुज स्ट्रेटमा आफ्ना युद्धपोत नपठाउने स्पष्ट पारेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटो देशहरूले यो महत्त्वपूर्ण समुद्री बाटो पुनः खुलाउन मद्दत नगरे नेटोको भविष्य नै खराब हुन सक्ने चेतावनी दिएकै बेला यो निर्णय आएको हो।
यो युरोपको युद्ध होइन : जर्मनी
‘द गार्डियन’ को रिपोर्टअनुसार जर्मनीले कुनै पनि सैन्य कारबाहीमा भाग नलिने प्रस्ट पारेको छ।
जर्मन चान्सलर फ्रेडरिक मर्जले यस विषयमा कहिल्यै कुनै निर्णय नभएकोले जर्मनीको सैन्य योगदानको प्रश्न नै नउठ्ने बताए।
इरानको वर्तमान सरकार अन्त्य हुनुपर्ने भए पनि बमबारी गरेर उसलाई झुकाउन खोज्नु सही तरिका नभएको उनले बताए।
जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसले पनि अमेरिकामाथि प्रश्न उठाए।
उनले भने, ‘यो युरोपको युद्ध होइन र अमेरिकी नौसेना आफैँ यति शक्तिशाली हुँदा केही युरोपेली जहाजले के नै गर्न सक्छन् र ?’
बेलायत
बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले आफ्नो देश यो ठूलो युद्धमा नफस्ने बताए।
तेल बजारलाई स्थिर राख्न होर्मुज स्ट्रेट पुनः खुलाउनु आवश्यक रहेको तर यो सजिलो काम नभएको उनले स्वीकार गरे।
कुनै पनि कदम धेरैभन्दा धेरै देशहरूको सहमतिमा मात्रै उठाइने पनि उनले बताए।
युरोपेली देशहरूले सैन्य कारबाहीको सट्टा कूटनीतिमा जोड दिएका छन्।
होर्मुज स्ट्रेट निकै महत्त्वपूर्ण छ किनभने यहाँबाट विश्वको करिब २० प्रतिशत तेल र ग्यास आपूर्ति हुन्छ, जुन हाल इरानका कारण प्रभावित भइरहेको छ।
युद्धबाट होइन, वार्ताबाट समाधान निस्कियोस् : इटाली
इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले यस संकटको समाधान वार्ताबाटै निस्कनुपर्ने र आफ्नो देश कुनै पनि नौसैनिक मिसन बढाउने पक्षमा नरहेको बताए।
युरोपेली युनियनका हालका मिसनहरू समुद्री डकैती रोक्न र रक्षाका लागि मात्र रहेको भन्दै उनले तिनलाई युद्धमा बदल्न नसकिने प्रस्ट पारे।
अष्ट्रेलिया, फ्रान्स र जापानले पनि आफ्ना युद्धपोत नपठाउने स्पष्ट पारिसकेका छन्।


विश्व खबर 


















