काठमाडौं- इजरायलका रक्षामन्त्री इजरायल काट्जले इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ नेता अली लारीजानीको मृत्यु भएको दाबी गरेका छन्।
एक विज्ञप्ति जारी गर्दै काट्जले आफूलाई भर्खरै इरानका उच्च सुरक्षा अधिकारीको मृत्युको जानकारी प्राप्त भएको बताएका हुन्।
यता, इरानी सञ्चारमाध्यम ‘तस्निम’ र ‘मेहर’ समाचार एजेन्सीले भने अली लारीजानीले छिट्टै एउटा सन्देश जारी गर्ने दाबी गरेका छन्।
अली लारीजानी इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रभावशाली सचिव हुन्।
उनलाई अगस्ट २०२५ मा राष्ट्रपति मसुद पेजेस्कियानले परिषद्को सचिव र इरानका दिवंगत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको प्रतिनिधिको रूपमा नियुक्त गरेका थिए।
अलजजिराले विगत केही घण्टायता हामीले तेहरानका विभिन्न भागहरूमा ठूला विस्फोटका आवाजहरू सुनिएको जनाएको छ ।
यी आक्रमणहरू राजधानीमा मात्र सीमित नभई देशका अन्य सहरहरू अह्वाज, इस्फाहान र सिराज़मा पनि भएका छन्।
अलजजिराले राजधानीभरिका महत्त्वपूर्ण भवनहरू र दुई प्रमुख व्यक्तिहरू आईआरजीसीको बासिज बलका कमाण्डर घोलमरेजा सोलेमानी र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारीजानीमाथि आक्रमण भएको सूचना आएको जनाएको छ ।
इजरायल डिफेन्स फोर्सेस (आईडीएफ) ले इरानको राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारीजानीलाई निशाना बनाएको एक इजरायली सैन्य अधिकारीले बताएका छन्।
उनी मारिएका हुन् वा घाइते भएका छन् भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन।
यसअघि सोमबार अबेर साँझ अली लारीजानीले एउटा पत्र जारी गर्दै इस्लामिक देशका सरकारहरूको आलोचना गरेका थिए।
लारीजानीले उक्त पत्रमा ‘विश्वका मुस्लिम र इस्लामिक देशका सरकारहरू’ लाई सम्बोधन गर्दै लेखेका थिए, ‘के तपाईंलाई थाहा छ, औँलामा गन्न सकिने केही घटनाहरूलाई छाडेर कुनै पनि इस्लामिक सरकारले इरानी जनतालाई सहयोग गरेनन्रु’
लारीजानीले ती देशहरूलाई लेखेका थिए, ‘इरान तपाईंहरूको सहयोगी हो र तपाईंहरूमाथि हावी हुने हाम्रो कुनै मनसाय छैन, तर तपाईंहरू कसको पक्षमा हुनुहुन्छरु’
को हुन् घोलमरेजा सोलेमानी ?
इजरायलले एक आक्रमणमार्फत इरानको अर्धसैनिक ‘बासिज बल’ का प्रमुख घोलमरेजा सोलेमानीलाई मारेको दाबी गरेको छ। इरानले भने यस दाबीमाथि हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन।
सन् १९६४ मा जन्मिएका सोलेमानी युवावस्थामै इरानको आईआरजीसीमा प्रवेश गरेका थिए।
इरान(इराक युद्धका क्रममा बटालियन कमाण्डर र पछि आईआरजीसीका विभिन्न डिभिजनको नेतृत्व गर्दै उनले संगठनमा लगातार पदोन्नति हासिल गरेका थिए।
सन् २०१९ देखि उनले आईआरजीसी अन्तर्गतको अर्धसैनिक स्वयंसेवक समूह ‘बासिज बल’ को नेतृत्व गरिरहेका थिए।
करिब ४ लाख ५० हजार जनशक्ति रहेको अनुमान गरिएको यस बलको नेतृत्व सम्हालेका कारण उनी इरानको आन्तरिक सुरक्षा संयन्त्रका प्रमुख व्यक्ति मानिन्थे।
इरानी सरकारका कट्टर डिफेन्डर (समर्थक) मानिने सोलेमानीमाथि अमेरिका, युरोपेली युनियन ९ईयू०, बेलायत र क्यानडा लगायत थुप्रै पश्चिमी देश र संस्थाहरूले प्रतिबन्ध लगाएका छन्।


विश्व खबर 


















