काठमाडौं– फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले अप्रत्याशित हार व्यहोर्दै प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी जम्मा ३८ सिटमा सीमित रह्यो ।
२०७९ को निर्वाचनमा ८९ सिट जितेर पहिलो पार्टी बनेको कांग्रेस अब दोस्रोमा झरेको छ र प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल बन्ने निश्चित छ ।
तर, सभापति, पदाधिकारी र शीर्ष नेताहरू सबै पराजित भएपछि संसदीय दलको नेता को हुने भन्ने विषयमा कांग्रेसमा अन्योल छ ।
जितेका ३८ सांसदमध्ये ९ जना मात्र पुराना सांसद हुन् ।
प्रत्यक्षतर्फका अभिषेक प्रताप शाह, जनकराज गिरी, भरतबहादुर खड्का, मोहन आचार्य, योगेश गौचन थकाली र टेकबहादुर गुरुङ तथा समानुपातिकतर्फका भीष्मराज आङ्देम्बे,
अर्जुननरसिंह केसी र डा. चन्द्रमोहन यादव पहिले संसदमा पुगेका थिए ।
बाँकी सबै नयाँ सांसद हुन् ।
प्रत्यक्षतर्फका सांसदमध्ये कपिलवस्तु–३ का शाह पाँचौं पटक संसद प्रवेश गर्दैछन् ।
बाजुराका गिरी ०५६ को प्रतिनिधिसभा निर्वाचित थिए ।
डोटीका खड्का दोस्रो, रसुवाका आचार्य ह्याट्रिक, मुस्ताङका थकाली दोस्रो र मनाङका गुरुङ तेस्रो पटक सांसद बनेका हुन् ।
समानुपातिक सांसद केसी सबैभन्दा अनुभवी हुन्, पञ्चायती व्यवस्थादेखि मन्त्रीसम्म रहिसकेका छन् ।
संसदीय दलको नेता चयनबारे अहिलेसम्म छलफल सुरु भएको छैन ।
यद्यपि स्रोतका अनुसार सभापति गगन थापाले आफ्नै ससुरा केसीलाई संसदीय दलको नेता बनाउन कोसिस गरिरहेका छन् ।
प्रत्यक्षतर्फका खड्का, गिरी, आचार्य र केरुङ तथा समानुपातिकतर्फका केसी र आङ्देम्बे आकांक्षी छन् ।
गुटगत हिसाबले केसी सभापति गगन थापासँग सम्बन्धित छन् भने आङ्देम्बे निवर्तमान सभापति शेरबहादुर देउवा समूहका हुन् ।























