काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) स्वास्थ्य कारणले आज ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा जारी नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रमको उद्घाटनमा सहभागी हुन सकेनन् ।
उपसभापति डीपी अर्यालले उद्घाटन कार्यक्रम बालेन र रवि दुवैको अनुपस्थितिमा गरेका छन् ।
बुधबारसम्म सञ्चालन हुने कार्यक्रममा बालेन उद्घाटन सत्रमा नभएकाले उद्घाटन उपसभापति अर्याल र डा. स्वर्णिम वाग्लेले संयुक्त रूपमा गरेका छन्, जबकि रवि समापन सत्रमा सहभागी हुने तालिका रहेको छ ।
रास्वपाले नयाँ सांसदहरूलाई संसदीय प्रक्रिया, कानुन निर्माण, नीति विश्लेषण, जनप्रतिनिधिको भूमिका, पार्टी रणनीति र संसद्–सरकार–निर्वाचन क्षेत्रबीच समन्वयमा दक्ष बनाउने उद्देश्यले प्रशिक्षण आयोजना गरेको जनाएको छ ।
कार्यक्रममा प्रत्यक्ष निर्वाचित १२५ र समानुपातिक ५७ गरी कुल १८२ सांसद सहभागी छन् ।























