काठमाडौं– झण्डै दुई तिहाइ बहुमतसहित सरकार गठनको अन्तिम तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र पार्टी सभापति रवि लामिछानेबीच मन्त्री चयनको विषयमा सहमति जुट्न सकेको छैन ।
आगामी एक साताभित्र बालेन नेतृत्वमा सरकार गठन हुने लगभग निश्चित देखिए पनि मन्त्रालय बाँडफाँटमा दुवै नेताबीच स्वार्थ बाझिएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार बालेनले सभापति रविसँग स्पष्ट प्रस्ताव राख्दै भनेका छन्, ‘तपाईं पार्टी चलाउनुहोस्, मलाई सरकार चलाउन दिनुहोस् ।’ उनले मन्त्रालय संख्या घटाएर सरकार गठन गर्ने योजना बनाउँदै मन्त्री चयनमा आफूलाई स्वतन्त्रता चाहिने अडान राखेका छन् ।
विशेषगरी गृह र अर्थ मन्त्रालय आफ्ना विश्वासपात्रलाई दिनुपर्ने पक्षमा उनी छन् । यता सभापति रवि लामिछाने भने तत्काल सरकारमा सहभागी नहुने मनस्थितिमा रहे पनि आफू निकटका नेताहरूलाई प्रभावशाली मन्त्रालय दिनुपर्ने अडानमा छन् ।
उनका निकट स्रोतका अनुसार उनले गृह, रक्षा, परराष्ट्र, अर्थ र श्रमजस्ता जनतासँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय आफ्ना विश्वस्त टोलीलाई दिन चाहेका छन् । महत्वपूर्ण मन्त्रालयको बाँडफाँटमै सहमति नजुट्दा मन्त्रिपरिषद् गठन प्रक्रिया केही ढिलो भएको बताइएको छ ।
बालेनले प्रधानमन्त्रीय प्रणालीअनुसार प्रधानमन्त्रीलाई आफ्नै ढंगले मन्त्रिपरिषद् गठन गर्ने अधिकार हुनुपर्ने तर्क गर्दै आएका छन् । रास्वपाका एक नेताका अनुसार चैत १० गतेभित्र बालेन प्रधानमन्त्री बन्ने सम्भावना प्रबल छ । सोही दिन मन्त्रिपरिषद्लाई पूर्णता दिने लक्ष्यसहित शीर्ष नेतृत्वबीच छलफल जारी रहेको छ ।
‘मन्त्री चयन पनि आपसी सहमतिमै हुन्छ, अहिले त्यसैको गृहकार्य भइरहेको छ,’ ती नेताले भने । जनताको व्यापक समर्थन पाएको रास्वपा सरकार गठनको अन्तिम चरणमा पुगेको छ । बालेन प्रधानमन्त्री बन्ने विषयमा कुनै द्विविधा नभए पनि मन्त्री चयनमा बालेन र रविको आ–आफ्नै अडानका कारण नाम टुंगो लगाउन ढिलाइ भइरहेको स्रोतको दाबी छ ।
रास्वपाले चुनावी वाचापत्रमै मन्त्रालय संख्या घटाउने र अनावश्यक कर्मचारी तथा संघ–संगठन खारेज गर्ने प्रतिबद्धता जनाएको थियो । एकल बहुमतको सरकार बन्ने अवस्थामा पुगेपछि पार्टीले उक्त प्रतिबद्धता कार्यान्वयनमा जोड दिने तयारी गरेको छ ।























