काठमाडौं– जेनजी आन्दोलनका क्रममा सिंहदरबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री निवास बालुवाटार जोगाउन नसकेको भन्दै सुरक्षामा खटिएका सैनिक अधिकारीमाथि कारबाही सिफारिस गरिएको छ ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पर्याप्त सावधानी र सक्रियता नअपनाउँदा आगजनी र तोडफोड भएको निष्कर्ष निकालेको हो ।
आन्दोलनकारीले ती संवेदनशील क्षेत्रमै प्रवेश गरी क्षति पुर्याएका थिए भने त्यसअघि नै राष्ट्रपति र प्रधानमन्त्रीलाई सुरक्षित स्थानमा सारिएको थियो ।
आयोगका अनुसार सुरक्षाको जिम्मेवारीमा रहेको नेपाली सेना ले आवश्यक प्रतिरोध नगरेकाले क्षति बढेको देखिएको छ ।
आयोगले केही सैनिक अधिकृतमाथि कारबाही सिफारिस गरे पनि समग्र सेनाको भूमिकामाथि प्रश्न उठाएको छैन ।
उता, नेपाल प्रहरी तर्फ भने तत्कालीन आईजिपीमाथि मुद्दा चलाउन सिफारिस गरिएको छ, जसले संगठनभित्र असन्तुष्टि बढाएको छ ।
प्रतिवेदन अझै सार्वजनिक नभए पनि सरकारमाथि त्यसलाई छिट्टै सार्वजनिक गर्न दबाब बढ्दो छ ।
साथै, राष्ट्रिय मानव अधिकार आयोग ले पनि आन्दोलनसम्बन्धी छुट्टै प्रतिवेदन तयार गरी आगामी साता सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।























