images
images
  • प्रतिनिधिसभामा पुस्तान्तरण : साढे २ सय बढी नयाँ सांसद, युवाको दबदबा

    काठमाडौं- निर्वाचन आयोगले समानुपातिकतर्फका ११० सांसदहरूको नाम सोमबार सार्वजनिक गर्‍यो ।

    अब प्रतिनिधिसभा कस्तो हुनेछ भन्ने निश्चित भएको छ ।

    जेनजी आन्दोलनपछि सिर्जित राजनीतिक संक्रमण पार लगाउनका लागि नयाँ निर्वाचन भएको थियो ।

    उक्त निर्वाचनले अब भावी संसद्को दृश्य निर्धारण गरेको छ ।

    रास्वपाको झण्डै दुई तिहाइ
    यो चुनावले विगतको संसद्को राजनीतिक समीकरण बदलेको छ ।

    प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अब करिब दुई तिहाइ उपस्थिति हुनेछ । दुई तिहाइका लागि रास्वपालाई दुई सिटको मात्र अभाव हुनेछ ।

    प्रतिनिधि सभामा रास्वपाको प्रत्यक्ष र समानुपातिक गरी १८२ सिट तय भएको छ ।

    कांग्रेस, एमाले र माओवादी निकै खुम्चिएका छन् । कांग्रेस, एमाले र माओवादी एकठाँउमा रहँदा पनि उनीहरुले पाएको सिट रास्वपाको तुलनामा सय सिट कम हुन्छ ।

    अघिल्लोपटक २१ सिट पाएको रास्वपाले यसपटक अनपेक्षित जनमत पाएको हो ।

    धनुषा–१ मा रास्वपाकै उम्मेद्वार कालोसूचीमा परेर उम्मेदवारी रद्द भएकाले उसलाई एक सिट घाटा लागेको हो ।

    प्रमुख विपक्षी दल कांग्रेस
    ३८ सिट पाएको नेपाल कांग्रेस अब प्रतिनिधिसभाको प्रमुख विपक्षी दल बन्नेछ । र, कांग्रेसले चयन गर्ने संसदीय दलको नेता प्रमुख विपक्षी दलको नेता बन्नेछन् ।

    प्रमुख विपक्षी दलको नेतालाई सदस्यका हैसियतले संवैधानिक परिषद्‌मा भाग लिन पाउने सुविधा हुनेछ ।

    त्यसबाहेक संसदीय अभ्यास अनुसार, प्रतिनिधिसभामा कांग्रेस, एमाले, श्रम संस्कृति पार्टी वा राप्रपाले सार्वजनिक लेखा समितिको सभापतिमा दाबी गर्न पाउनेछ ।

    ती बाहेक अरु सबैजसो समितिमा रास्वपाका सांसदहरुको बाहुल्यता रहनेछ ।

    संसदीय सुनुवाई विशेष समितिमा भने राष्ट्रिय सभाबाट पनि सांसदहरु रहनेछन् ।

    सबैजसो नयाँ अनुहार
    यो प्रतिनिधिसभामा २० जना बाहेक सबैजना पहिलोपटक सांसद् भएका व्यक्तिहरू छन् ।

    २० मध्ये आधाजसो अघिल्लोपटक रास्वपाबाट निर्वाचित सांसदहरु हुन् । प्रत्यक्षमा मात्रै होइन, समानुपातिकमा पनि केही सीमित व्यक्तिबाट सबैजसो नयाँ सांसदहरू छन् ।

    २१ फागुनको निर्वाचनमा नेकपा अध्यक्ष प्रचण्ड र नेता वर्षमान पुन बाहेक सबैजसो पुराना नेताहरू प्रत्यक्ष निर्वाचनबाट पराजित भए ।

    समानुपातिकमा केही सीमित अनुहार दोहोरिएका छन् । ती बाहेक अरु सबै सांसदहरू नयाँ छन् ।

    औलामा गन्न सकिने केही सीमित बाहेक २०४६ सालको परिवर्तनपछि सदाबहार राजनीतिमा रहेका धेरै नेताहरू यसपटक पराजित भएका छन् ।

    र, निर्वाचित अधिकांश यसअघि राजनीतिमा नदेखिएका र नसुनिएकाहरू हुन्, जसको आवाज अब सोझै संसदमा पुग्नेछ ।

    युवा बाहुल्य
    प्रतिनिधिसभामा ९४ जना सांसदहरु ४० वर्षमुनिका छन् ।

    आधा भन्दा बढी सांसदहरु ४५ वर्षमुनिका छन्, जसमा अधिकांश २०४६ सालको परिवर्तनपछि जन्मेकाहरू पर्छन् ।

    १९ जना सांसदहरू ३० वर्षमुनिका छन् ।

    ६० कटेका सांसदहरूको संख्या ३० मात्रै छ ।

    प्रत्यक्ष र समानुपातिक सांसदहरुको औसत उमेर नै ४५ वर्ष ४ महिना छ ।

    नेपाली कांग्रेसबाट समानुपातिकमा चयन भएका अर्जुननरसिंह केसी (७८ वर्ष)ले जेष्ठ सदस्यको हैसियतले प्रतिनिधिसभाको पहिलो बैठक चलाउनेछन् ।

    ७० कटेका सांसदहरू पाँच जना छन् ।

    नयाँ दलमा युवा, पुरानाका प्रौढ
    निर्वाचन आयोगले सोमबार प्रकाशित गरेको विवरण केलाउँदा के देखिन्छ भने निर्वाचित अधिकांश युवा सांसदहरू रास्वपाबाट छन् ।

    रास्वपाले प्रत्यक्ष र समानूपातिकमा प्रौढ उम्मेदवारहरुलाई प्राथमिकता दिएको थिएन । ठिक उल्टो, निर्वाचित पाका र वृद्ध सांसदहरु कांग्रेस, एमाले र नेकपा जस्ता पुराना पार्टीबाट छन् ।

    कांग्रेसबाट निर्वाचित कम उमेरकी सांसद ३० वर्षीया गीता गुरुङ हुन्, तर उनीभन्दा कम उमेरका २६ जना सांसदहरू प्रतिनिधिसभामा छन् ।

    एमालेबाट समानूपातिकमा चुनिएकी सबैभन्दा कम उमेरकी सांसद एसोदा कुमारी बराल हुन्, यो उमेरको हिसावले ४६ औं स्थानमा छिन् ।

    सप्तरी–४ बाट निर्वाचित ६५ वर्षीय सिताराम साह रास्वपाका सबैभन्दा जेष्ठ सांसद हुन् ।

    उनीभन्दा बढी उमेरका १४ जना कांग्रेस, एमाले र नेकपाका छन् ।

    रास्वपाबाट ६० कटेका सांसदहरू ३ जनामात्रै छन् ।

    ७१ वर्षीय महावीर पुनले रास्वपाको समर्थनसम्म पाएका हुन्, उनको हैसियत स्वतन्त्र नै हो ।

    कति पाए, कति गुमाए ?
    रास्वपाले प्रत्यक्षमा १ सय २५ र समानुपातिकमा ५७ गरी कुल १८२ सिट पाएको थियो ।

    अघिल्लोपटकको तुलनामा रास्वपाले १०४ सिट बढी पाएको हो ।

    नेपाली कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी कुल ३८ सिट पाएको छ ।

    उसले अघिल्लोपटकको तुलनामा ७० सिट गुमाएको छ ।

    एमालेले प्रत्यक्षमा ९ र समानुपातिकमा १६ गरी कुल २५ सिट पाएको छ, जुन अघिल्लोको तुलनामा ७० सिट कम हो ।

    नेकपाले प्रत्यक्षमा ८ र समानूपातिकमा ९ गरी कुल १७ सिट पाएको छ, जुन अघिल्लोको तुलनामा २४ सिट कम हो ।

    श्रम संस्कृति पार्टीले प्रत्यक्षमा ३ र समानुपातिकमा ४ गरी कुल ७ सिट पाएको छ ।

    राप्रपाले प्रत्यक्षमा १ र समानुपातिकमा ४ गरी कुल ५ सिट पाएको छ ।

    म्याग्दीबाट महावीर पुन निर्वाचन जित्ने एकमात्रै स्वतन्त्र उम्मेदवार हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images