काठमाडौं– जेनजी आन्दोलनपछि राजनीतिक अस्थिरता र आर्थिक संकटका बीच, निर्माण, पूर्वाधार र ऊर्जा क्षेत्रका व्यवसायी र विज्ञहरू निर्वाचनमा उम्मेदवारका रूपमा सक्रिय भएका छन्। उनीहरूको उद्देश्य नीति निर्माण तहमा प्रत्यक्ष पहुँच प्राप्त गरेर व्यावसायिक चुनौतीहरू सम्बोधन गर्नु हो।
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि माघ ६ मा उम्मेदवारी दर्ता भइसकेको छ। यसमा ३,४९० जना उम्मेदवार छन्, जसमा निर्माण र ऊर्जा क्षेत्रका करिब डेढ दर्जन व्यवसायी/विज्ञ छन्। उनीहरूले सामाजिक सञ्जाल, घरदैलो, सभा र जुलुसमार्फत आफ्नो एजेन्डा प्रस्तुत गर्दै मतदाता फकाइरहेका छन्।
निर्माण क्षेत्रका उम्मेदवार अमर रायमाझी (उदयपुर–२, एमाले) मुख्यत: भौतिक पूर्वाधार विकास, कृषि–पर्यटन प्रवर्द्धन र व्यवसायमैत्री कानुन निर्माणमा केन्द्रित छन्।
उनले सडक सञ्जाल विस्तार, सार्वजनिक खरिद ऐन सुधार, ठेक्का प्रणाली सुधार, भुक्तानी समयमै सुनिश्चित गर्ने, उपभोक्ता समिति नियम संशोधन, बीमा सुविधा सुधार र उच्चस्तरीय आयोग गठनजस्ता ११ बुँदे योजना अघि सारेका छन्।
ऊर्जा क्षेत्रमा उम्मेदवार कुशल गुरुङ (कास्की–२, उज्यालो नेपाल पार्टी) र भरत पराजुली (सिन्धुपाल्चोक–१, रास्वपा)ले निजी क्षेत्रमा लगानी प्रवर्द्धन, विद्युत् उत्पादन विस्तार, नवीकरणीय ऊर्जा, कार्बन व्यापार र “नेट जिरो इमिसन” लक्ष्य प्राप्ति, बहुबिक्रेता–बहुक्रेता प्रणाली, ऊर्जा सुरक्षा, विदेशी लगानी संरक्षण र दक्ष जनशक्ति निर्माणमा आफ्नो चुनावी एजेन्डा तय गरेका छन्।
गुरुङले जलवायु परिवर्तनलाई अवसरमा बदल्ने योजना प्रस्तुत गरे भने पराजुलीले उद्योगमा रोजगारी सिर्जना र ऊर्जा उपभोग वृद्धि गर्न सरकारी सहयोग र नीतिगत स्थिरता आवश्यक रहेको बताए।
निर्माण र ऊर्जा क्षेत्रका उम्मेदवारहरू आफ्नो अनुभव र विशेषज्ञता प्रयोग गरी नीति निर्माणमा प्रभाव पार्ने, लगानी वातावरण सुधार्ने र देशको समग्र आर्थिक विकासमा योगदान गर्ने लक्ष्य राखेका छन्।























