काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले ’स्ट्रेट अफ हर्मुज’ खुलाउन सहयोग नगरे आफ्नो चीन भ्रमण ढिला गर्ने धम्की दिएका छन् ।
फेब्रुअरी २८ मा अमेरिका र इसराइलले इरानमाथि हमला गरेपछि इरानले हर्मुज बन्द गरेको थियो ।
यो जलमार्गबाट विश्वको करिब २५ प्रतिशत तेल र २० प्रतिशत ग्यास पैठारी हुन्छ ।
बन्द हुँदा अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेर विश्व अर्थतन्त्र प्रभावित भएको छ ।
ट्रम्पले युद्धपोत पठाएर हर्मुज खोल्ने तयारी गरिरहेका छन् र शनिबार चीन, बेलायत लगायत देशलाई सहयोगको आग्रह गरेका छन् ।
तर चीनले सहयोग गर्ने सम्भावना कम देखिन्छ ।
त्यसैले चीनलाई दबाव दिन ट्रम्पले आफ्नो भ्रमण ढिला गर्ने चेतावनी दिएका हुन् ।
ट्रम्पले फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा भने, ‘चीनले पनि मद्दत गर्नुपर्छ किनभने उनीहरूको ९० प्रतिशत तेल यही जलमार्गबाट आउँछ ।’
उनका अनुसार भ्रमण अघि नै चीनले सहयोग गर्छ कि गर्दैन भन्ने स्पष्ट पाउन चाहन्छन् ।
भ्रमण मार्च अन्त्यमा तय भए पनि ट्रम्पले ढिलाइको मिति खुलाएनन् ।
भेटवार्तामा व्यापार सुलह र ताइवान मामलामा पनि छलफल हुने अपेक्षा छ।


विश्व खबर 


















