काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराध मुद्दा फिर्ता गर्ने सरकारी निर्णयविरुद्ध परेको रिट निवेदनमाथि आज पनि सर्वोच्च अदालत मा निरन्तर सुनुवाइ हुँदैछ ।
आइतबार सुनुवाइ नसकिएपछि अदालतले उक्त रिटलाई ‘हेर्दाहेर्दै’मा राखेको थियो, जसअनुसार आज पनि सोही इजलासमा बहस जारी रहनेछ ।
न्यायाधीशद्वय सारंगा सुवेदी र सुनिल कुमार पोखरेल को संयुक्त इजलासमा आइतबारदेखि सुनुवाइ सुरु भएको हो ।
यसअघि सविता भण्डारी बरालले अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिने निर्णय गर्दै सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालयलाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएकी थिइन् ।
सोही निर्देशनअनुसार जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा फिर्ता (अभियोग संशोधन) सम्बन्धी निवेदन अदालतमा पेश गरेको भए पनि, जिल्ला अदालतले भने सर्वोच्च अदालतमा विचाराधीन रिटको अन्तिम टुंगो नलागेसम्म कुनै निर्णय नगर्ने बताएको छ ।
मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवराज पौडेल, दिनेश त्रिपाठी र आभास रेग्मी ले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट दायर गरेका हुन् ।
यद्यपि, यी दुई कसुरका मुद्दा फिर्ता भए पनि लामिछानेविरुद्ध सहकारी ठगीसम्बन्धी मुद्दा भने यथावत् रहनेछ ।























