काठमाडौं– २१ फागुनमा सम्पन्न निर्वाचनको समानुपातिक मतका आधारमा विभिन्न दलहरूले प्रतिनिधिसभामा सिट बाँडेका छन् ।
यसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५७ सिट प्राप्त गर्दा नेपाली कांग्रेसले २०, नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले १६ र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले ९ सिट पाएका छन् ।
त्यस्तै श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फ ४/४ सिट जितेका छन् ।
थ्रेसहोल्ड कटाउने ६ दलले समानुपातिक प्रणालीअन्तर्गत सांसद चयन गर्ने अवसर पाएका हुन् ।
यसपटक समानुपातिक सूचीबाट पाँच जना पूर्वविधायक पुनः प्रतिनिधिसभामा प्रवेश गर्दैछन् ।
रामबहादुर थापा ‘बादल’ र पद्मा अर्याल नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट पुनः सांसद बन्दैछन् ।
बादल पूर्वगृहमन्त्री तथा माओवादी सशस्त्र संघर्षका प्रमुख सैन्य कमाण्डरमध्ये एक हुन् ।
२०६४ को संविधानसभा निर्वाचनमा चितवन–२ बाट विजयी भएका उनी प्रचण्ड नेतृत्वको पहिलो गणतान्त्रिक सरकारमा रक्षामन्त्री बनेका थिए ।
पछि राष्ट्रिय सभा सदस्य हुँदै केपी शर्मा ओली नेतृत्वको सरकारमा गृहमन्त्री बने ।
पद्मा अर्याल २०७४ मा स्याङ्जा–२ बाट निर्वाचित भई भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री बनेकी थिइन् ।
उनको कार्यकालमा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गरी संविधानमा समावेश गरिएको थियो ।
यसपटक समानुपातिक सूचीको महिला क्लस्टरबाट उनी पुनः सांसद बनेकी हुन् ।
बलावती शर्मा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट समानुपातिक सांसद बनेकी छन् ।
उनी २०६३ को अन्तरिम व्यवस्थापिकामा सदस्य रहिसकेकी छन् ।
पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलकी श्रीमती शर्मा जनयुद्धकालदेखि नै राजनीतिमा सक्रिय रहँदै आएकी छन् ।
अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे नेपाली कांग्रेसबाट समानुपातिक सूचीमार्फत पुनः संसद छिर्दैछन् ।
केसी २०४८ यता पटक–पटक सांसद र मन्त्री भइसकेका नेता हुन् भने आङ्देम्बे दोस्रो संविधानसभाका सदस्य रहिसकेका छन् ।
प्रत्यक्षबाट पनि दोहोरिए पुराना अनुहार
समानुपातिक मात्र होइन, प्रत्यक्षतर्फबाट पनि थुप्रै पुराना अनुहार पुनः निर्वाचित भएका छन् ।
पुष्पकमल दाहाल (प्रचण्ड) रुकुम पूर्वबाट, वर्षमान पुन रोल्पाबाट तथा अमरेश कुमार सिंह सर्लाही–४ बाट निर्वाचित भएका छन् ।
प्रचण्ड तीनपटक प्रधानमन्त्री भइसकेका छन् भने पुन पटक–पटक मन्त्री बनेका छन् ।
त्यस्तै टेकबहादुर गुरुङ मनाङबाट पुनः निर्वाचित भएका छन् ।
धनबहादुर बुढा र महेन्द्रबहादुर शाही पनि दोहोरिएका सांसद हुन् ।
मोहम्मद इश्तियाक राई पनि पटक–पटक निर्वाचित हुँदै आएका नेता हुन् ।
प्रत्यक्षतर्फ दोहोरिनेहरूको सूची
प्रत्यक्षतर्फ पनि केही प्रभावशाली नेताहरूले आफ्नो स्थान जोगाएका छन् ।
राजेन्द्रकुमार राई धनकुटाबाट पुनः निर्वाचित भएका छन् भने योगेश गौचन मुस्ताङबाट पुनः जितेका छन् ।
ज्ञानेन्द्र शाही जुम्लाबाट दोहोरिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट मात्रै १२ जना पुराना सांसद पुनः निर्वाचित भएका छन्, जसमा रवि लामिछाने, हरि ढकाल, सोविता गौतम, निशा डाँगी, इन्दिरा राना मगर, मनिष झा, शिशिर खनाल, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, डीपी अर्याल र तोसिमा कार्की रहेका छन् ।
सुहाङ नेम्वाङ इलामबाट दोस्रो पटक निर्वाचित भएका छन् ।
उनी पूर्वसभामुख सुवास नेम्वाङका पुत्र हुन् ।
त्यस्तै स्वर्णिम वाग्ले पनि उपनिर्वाचनपछि पुनः निर्वाचित हुँदै संसदमा फर्किएका छन् ।























