images
images
  • कहाँको मतले शक्तिशाली बन्यो रास्वपा ?

    काठमाडौं– २१ फागुनमा सम्पन्न आमनिर्वानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २७५ सदस्यीय प्रतिनिधिसभामा १८२ सिट जित्दै ऐतिहासिक सफलता हासिल गरेको छ ।

    प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट जितेको रास्वपा दुई तिहाइ बहुमतभन्दा मात्र दुई सिटले पछाडि रह्यो ।

    २०७२ सालमा संविधान जारी भएयताका निर्वाचनहरूमा कुनै पनि दलले यस्तो व्यापक जनसमर्थन जुटाउन सकेका थिएनन् ।

    रास्वपाको यो अभूतपूर्व जितमा मधेस प्रदेश निर्णायक सावित भयो ।

    मधेसका आठ जिल्लाअन्तर्गतका ३२ निर्वाचन क्षेत्रमध्ये ३० सिट रास्वपाले आफ्नो पक्षमा पारेको छ ।

    समानुपातिकतर्फ पनि मधेसमा ५७.३३ प्रतिशत मत ल्याउँदै रास्वपाले आफ्नो प्रभाव मजबुत बनाएको छ ।

    प्रत्यक्षतर्फ बाँकी दुई सिटमध्ये रौतहट–२ मा नेपाली कांग्रेसका मोहम्मद फिरदोश आलम र धनुषा–१ मा नेकपाका मातृका यादव विजयी भएका छन् ।

    देशभरको समानुपातिक मततर्फ हेर्दा रास्वपाले ४७.८४ प्रतिशत मत प्राप्त गरेको छ ।

    मधेस प्रदेशबाट प्राप्त मतलाई अलग राख्दा यो प्रतिशत ४५.३३ मा झर्छ, जसले मधेसको योगदान कति महत्वपूर्ण थियो भन्ने स्पष्ट पार्छ ।

    मतदाताको संख्याका आधारमा बागमतीपछि मधेस प्रदेश दोस्रो ठूलो प्रदेश हो ।

    बागमतीमा ३६ लाख ८२ हजार ३१० मतदाता रहेका छन् भने मधेसमा ३६ लाख ३६ हजार ४१४ मतदाता छन् ।

    मधेसका जिल्लामध्ये महोत्तरीमा रास्वपाले सबैभन्दा बढी ६१.६६ प्रतिशत समानुपातिक मत प्राप्त गरेको छ ।

    महोत्तरी रास्वपाले प्रधानमन्त्रीको उम्मेदवार बनाएका वरिष्ठ नेता बालेन्द्र शाहको पुर्ख्यौली जिल्ला पनि हो ।

    त्यसपछि सर्लाही र धनुषामा पनि रास्वपाले उल्लेखनीय मत हासिल गरेको देखिन्छ ।

    यसअघि २०७९ सालको निर्वाचनमा भने मधेसमा रास्वपाको प्रदर्शन निकै कमजोर थियो ।

    त्यतिबेला प्रत्यक्षतर्फ कुनै सिट जित्न नसकेको रास्वपाले समानुपातिकतर्फ मात्र ७२ हजार ९३५ मत (३.४३ प्रतिशत) प्राप्त गरेको थियो ।

    देशभरबाट सात सिट जितेको रास्वपा समानुपातिकतर्फ १०.७ प्रतिशत मत (११ लाख ३० हजार ३४४) ल्याउँदै २० सांसदसहित चौथो ठूलो दल बनेको थियो ।

    यसपटक भने मधेसमा रास्वपाबाहेकका सबै प्रमुख दलहरूले उल्लेखनीय मत गुमाएका छन् ।

    रास्वपातर्फ मत सरेपछि मधेसकेन्द्रित दलहरू राष्ट्रिय दल बन्नसमेत असफल भएका छन् ।

    मधेस मात्र होइन, समग्र तराई क्षेत्रमा पनि रास्वपाले जनमतमा व्यापक परिवर्तन ल्याएको छ ।

    तराई–मधेसका २१ जिल्लाका ७३ निर्वाचन क्षेत्रमध्ये ६८ सिट जित्दै रास्वपाले आफ्नो प्रभाव विस्तार गरेको छ ।

    समानुपातिकतर्फ पनि ५४ प्रतिशतभन्दा बढी मत आफ्नो पक्षमा पार्न सफल भएको छ ।

    तराई–मधेस क्षेत्रमा कोसी प्रदेशका झापा, मोरङ र सुनसरी; मधेस प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा; बागमती प्रदेशको चितवन; गण्डकी प्रदेशको नवलपरासी (पूर्व); लुम्बिनी प्रदेशका नवलपरासी (पश्चिम), रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया; तथा सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लाहरू पर्दछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images