images
images
  • होर्मुज स्ट्रेट नखोले नेटोको भविष्य संकट पर्नसक्ने ट्रम्पले दिए चेतावनी

    काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज स्ट्रेट खुला गर्ने विषयमा युरोपेली देशहरू र चीनमाथि कडा दबाब सिर्जना गरेका छन्।

    फाइनान्सियल टाइम्सलाई दिएको एक अन्तर्वार्तामा ट्रम्पले यदि युरोपेली सहयोगीहरूले यस रणनीतिक जलमार्ग खोल्न मद्दत नगरेमा त्यसले नेटोको भविष्यका लागि ‘धेरै नराम्रो’ नतिजा ल्याउने चेतावनी दिएका हुन्।

    राष्ट्रपति ट्रम्पले चिनियाँ राष्ट्रपतिसँग बेइजिङमा हुने आगामी शिखर वार्ताअघि नै चीनले होर्मुज स्ट्रेटका विषयमा ठोस कदम चालोस् भन्ने चाहना व्यक्त गरेका छन्।

    ट्रम्पका अनुसार चीनले आफ्नो कुल तेल आयातको ९० प्रतिशत यही मार्गबाट प्राप्त गर्ने भएकाले यसलाई सुचारु राख्नु चीनको आफ्नै हितमा छ।

    मार्चको अन्त्यमा बेइजिङ बैठक तय भए तापनि ट्रम्पले दुई हप्ताको समय धेरै लामो भएको बताउँदै चीनले तुरुन्तै केही गरोस् भन्ने अपेक्षा राखेका छन्।

    उनले आफ्नो चीन भ्रमण स्थगित हुन सक्ने संकेत समेत दिएका छन्। नेटो र युरोपेली देशहरूप्रति आक्रामक रूपमा प्रस्तुत हुँदै ट्रम्पले अमेरिकाले सधैँ अरूको रक्षा गर्ने तर बदलामा सहयोग नपाउने गरेको गुनासो गरे।

    उनले खाडी क्षेत्रको तेलमा युरोपको ठूलो निर्भरता रहेकाले होर्मुज स्ट्रेट खोल्न सहयोग गर्नु उनीहरूको ‘कर्तव्य’ भएको बताए।

    ‘हामीले युक्रेनका लागि उनीहरूलाई मद्दत गर्नु आवश्यक थिएन, किनकि युक्रेन हामीभन्दा हजारौँ माइल टाढा छ। तर पनि हामीले मद्दत गर्‍यौँ। अब हामी हेर्नेछौँ कि उनीहरूले हामीलाई मद्दत गर्छन् कि गर्दैनन्,’ ट्रम्पले भने।

    ट्रम्पले अमेरिका आफ्ना सहयोगीहरूप्रति ‘धेरै नरम’ रहेको टिप्पणी गर्दै अब व्यवहारिक सहयोगको अपेक्षा गरेका छन्।

    यो चेतावनी उनले चीन, फ्रान्स, जापान, दक्षिण कोरिया र बेलायतलाई होर्मुज स्ट्रेट खोल्नका लागि ‘साझा प्रयास’ मा सामेल हुन औपचारिक अपील गरेको भोलिपल्ट आएको हो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images