images
images
  • यस्तो छ प्रत्यक्षतर्फ ४० सांसद व्यावसायिक पृष्ठभूमि

    काठमाडौं– २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट प्रत्यक्षतर्फ निर्वाचित १६५ सांसदमध्ये ४० जना व्यावसायिक पृष्ठभूमिका रहेका छन्। तीमध्ये सबैभन्दा धेरै ३५ जना सांसद राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित भएका हुन्। नेपाली कांग्रेसबाट चार जना र अन्य दलबाट एक जना व्यवसायिक पृष्ठभूमिका सांसद बनेका छन्।

    यसपटकको निर्वाचनले संसद्को सामाजिक र पेसागत संरचनामा उल्लेखनीय परिवर्तन ल्याएको देखिन्छ। परम्परागत दलहरूबाट आउने पूर्णकालीन राजनीतिक कार्यकर्ताको ठाउँमा व्यवसायी, प्राविधिक, सञ्चारकर्मी, सामाजिक अभियन्ता र विभिन्न पेशागत क्षेत्रका व्यक्तिहरू संसद्मा पुगेका छन्।

    चुनावमा ठूलो उद्योगी–व्यवसायीहरू भने पराजित भए। चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी, उद्योगी अनिलकुमार रूङ्गटा, पर्यटन व्यवसायी रमेशप्रसाद धमला, उद्योगपति दिलीप अग्रवाललगायत उम्मेदवारले जित निकाल्न सकेनन्।

    यद्यपि रास्वपाबाट उम्मेदवार बनेका मझौला तहका व्यवसायीहरू भने ठूलो संख्यामा संसद्मा पुगेका छन्। डोलप्रसाद अर्याल, हरि ढकाल, सुनिल लम्साल, बदनकुमार भण्डारी, सुनिल केसी, धनञ्जय रेग्मी, नीतिमा भण्डारी कार्की, मनीष झालगायत विभिन्न व्यवसाय, पर्यटन, सूचना–प्रविधि, होटल, निर्माण र सेवा क्षेत्रमा सक्रिय व्यक्तिहरू सांसद बनेका छन्।

    विशेषज्ञहरूका अनुसार व्यवसायिक पृष्ठभूमिका सांसदहरूले आर्थिक नीति, लगानी वातावरण र उद्यमशीलता सम्बन्धी विषयमा व्यावहारिक अनुभव संसद्मा ल्याउन सक्छन्। तर निजी व्यवसाय र सार्वजनिक पदबीच स्वार्थको द्वन्द्व हुने जोखिम पनि उत्तिकै रहने भएकाले स्पष्ट आचारसंहिता आवश्यक हुने उनीहरूको भनाइ छ।

    अर्थशास्त्री केशव आचार्यका अनुसार सांसदलाई आफ्नो व्यवसायसँग प्रत्यक्ष जोडिएका संसदीय समितिमा बस्न नदिने व्यवस्था गरिनुपर्छ। यसले नीति निर्माणमा निजी स्वार्थको प्रभाव घटाउन मद्दत गर्नेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images