काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भएको छ । आजै बस्ने दोश्रो बैठकमा प्रधानमन्त्रीले संविधान बमोजिम विश्वासको मत लिने संसद सचिवालयले जनाएको छ ।
कानुन तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभामुख मार्फत विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता गराएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
संसद सचिवालय स्रोतका अनुसार सोही व्यवस्थाबमोजिम प्रधानमन्त्री देउवाले आज अपराह्न ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिन लागेका हुन्। सर्वोच्च अदालतको फैसलाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति देउवालाई गत असार २९ गते प्रधानमन्त्री पदमा नियुक्ति गरेकी थिइन्।
सरकार गठनका अन्तिम उपधाराबाट प्रधानमन्त्री बनेकाले देउवाले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त नगरे उनैले प्रतिनिधि सभा विघटन गरी चुनाव घोषणा गर्न सक्ने संवैधानिक व्यवस्था छ।
प्रतिनिधि सभामा बहुमत सांसदबाट विश्वासको मत पाए भने देउवाले प्रतिनिधि सभाको पूरा कार्यकाल (५ वर्षको बाँकी) नियमित सरकारको नेतृत्व गर्न पाउनेछन्। यस हिसाबले ओलीले झन्डै साढे तीन वर्ष सरकार चलाइसकेकाले बाँकी डेढ वर्ष देउवाले निरन्तरता पाउनेछन्। त्यसपछि त स्वतः चुनाव हुने नै छ।
सर्वोच्च अदालतले पुनर्स्थापना गर्न आदेश दिएको प्रतिनिधिसभाको बैठक आज अपराह्न चार बजे बस्दै छ ।


विश्व खबर 




















