images
images
  • लेबनानको नेपाली शान्ति सैनिक रहेको ठाउँमा आक्रमण, कस्तो छ सैनिकको अवस्था ?

    काठमाडौं- संयुक्त राष्ट्रसंघको शान्ति मिसनका लागि लेबनानमा खटिएको नेपाली शान्ति सैनिकको एक क्याम्पमा हमला भएको छ ।

    समाचार एजेन्सी एएफपीका अनुसार नेपाली शान्ति सैनिकको बटालियन हेडक्वाटरमा हमला भउको हो ।

    शुक्रबार बेलुका भएको हमलाबाट नेपाली शान्ति सैनिकहरु भने सुरक्षित रहेको बताइएको छ । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले नेपाली शान्ति सैनिकहरु सुरक्षित रहेको बताए ।

    उनले भने, ‘नेपाली शान्ति सैनिक रहेको माइस-अल-जबालमा केही विष्फोट भएको हो । त्यहाँ एक घरमा क्षति पुगेको छ । नेपाली शान्ति सैनिकका व्यक्तिगत केही सामानहरुमा क्षति पुगेको छ । तर मानवीय क्षति भएको छैन ।’

    लेबनानभर ५ सय बढी नेपाली शान्ति सैनिक तैनाथ छन् । त्यहाँको खटनपटन दक्षिण लेबनानमा अवस्थित बटालियन हेडक्वाटरले गर्छ । बटालियन हेडक्वाटर इजरायलसँगको सिमाना नजिक छ ।

    त्यहाँको फोर्स कमाण्डर उपरथी मानबहादुर थापा छन् । आक्रमणको बेला सबै शान्ति सैनिकहरु बंकरभित्र रहेकाले सुरक्षित छन् ।

    आक्रमणको समयमा हेडक्वाटरमा कति संख्यामा शान्ति सैनिक थिए भन्ने एकिन भएको छैन ।

    ‘त्यहाँ अदलीबदली, आउजाउ भइरहन्छ त्यसैले आक्रमणको बेला कति शान्ति सैनिक थिए भन्ने एकिन छैन,’ सैनिक प्रवक्ता बस्नेतले भने ।

    लेबनानको सरकारी समाचार संस्था नेशनल न्युज एजेन्सीले इजरायलको गोला नेपाली शान्ति मिसनको हेडक्वाटरमा खसेको जिकिर गरेको छ ।

    ‘इसरायली गोला माइस-अल-जबाल सहरमा रहेको संयुक्त राष्ट्रसंघीय अन्तरिम बल (यूएनआइएफआइएल) अन्तर्गत नेपाली बटालियनको मुख्यालयभित्र खसे,’ एजेन्सीले भनेको छ ।

    युएन महासचिवले भने- द्वन्द्व रोकियोस्
    संयुक्त राष्ट्रसंघ (युएन)का महासचिव गुटेरेस लेबनान भ्रमणमा रहेका बेला शान्ति सैनिकको क्याम्पमा समेत विष्फोट भएको हो ।

    महासचिव गुटेरेसले शान्ति सैनिकलाई समेत निशाना बनाउनु अस्वीकार्य भएको बताए । उनले हाल चर्किएको द्वन्द्व तुरुन्तै रोकिनुपर्ने पनि बताए ।

    उनले शान्ति बहालका लागि विश्व समुदायलाई अपिल समेत गरेका छन् । ‘अन्तर्राष्ट्रिय समुदायलाई मेरो सन्देश एकदमै स्पष्ट छ- आफ्नो सक्रियता बढाउनुस्,’ उनले भनेका छन् ।

    उनले लेबनानसँगसँगै इजरायल र अरु सम्पूर्ण देशका जनतालाई निर्भयपूर्वक बाँच्न पाउने अधिकार रहेको बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images