images
images
  • १० चैतभित्र यस्तो बन्दैछ बालेन नेतृत्वको नयाँ सरकार !

    संविधान निर्माणपछि पहिलोपटक बन्दै छ धारा ७६(१)को सरकार
    काठमाडौं-प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना सकिएलगत्तै राजनीतिक ‘कोर्स’ नयाँ सरकार गठनतिर प्रवेश गरेको छ । निर्वाचन आयोग र संसद् सचिवालयले केही प्रक्रिया पूरा गरेपछि १० चैतसम्म नयाँ सरकार गठन हुने देखिएको छ । मतपरिणामको अन्तिम नतिजासहितको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएपछि नयाँ सरकार गठन प्रक्रिया आरम्भ हुने आयोगका अधिकारीले बताएका छन् ।

    आयोगले बिहीबार ६ दललाई प्राप्त समानुपातिक सिटमा निर्वाचित गर्नुपर्ने उम्मेदवारको नाम बन्दसूचीबाट छान्न पत्राचार गरिसकेको छ । बन्दसूचीबाट नाम छान्न दलहरूलाई तीन दिन समय दिइएको आयोगका प्रवक्ता नारायण भट्टराईले बताए । उनका अनुसार दलहरूले पठाएको उम्मेदवार मिले–नमिलेको हेरेर निर्वाचित गरी आयोगले दुई दिनभित्र प्रमाणपत्र दिनेछ ।

    ‘थ्रेसहोल्ड कटाएका ६ दललाई उनीहरूले प्राप्त गरेको समानुपातिक सिटमा निर्वाचित गर्नुपर्ने उम्मेदवारको नाम बन्दसूचीबाट छान्न तीन दिनको समय दिएर बिहीबार पत्राचार गरिएको छ । दलहरूले पठाएको उम्मेदवार मिले–नमिलेको हेरेर निर्वाचित गरी दुई दिनभित्रै प्रमाणपत्र दिनेछौँ,’ उनले भने, ‘५ चैतभित्र राष्ट्रपतिलाई अन्तिम मतपरिणाम प्रतिवेदन दिने लक्ष्यसहित काम गरिरहेका छौँ । केही प्राविधिक तयारी नसकिए एक दिन ढिलो हुन पनि सक्ला । तर, चैत पहिलो साताभित्रै प्रतिवेदन बुझाउने तयारी छ ।’

    संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार राष्ट्रपतिले अन्तिम मतपरिणाम प्रतिवेदन प्राप्त गरेपछि औपचारिक रूपमा सरकार गठन आह्वान गर्नेछन् । राष्ट्रपति कार्यालयबाट मतपरिणाम प्रतिवेदन संसद् सचिवालयमा पठाइन्छ भने राष्ट्रपतिले बहुमतप्राप्त दललाई सरकार गठनको आह्वान गर्नेछन् । ठुलो दल रास्वपाले संसदीय दलको नेता चुनेर प्रधानमन्त्रीको दाबी गर्नुपर्छ । रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर चुनावमा होमिएको थियो । बहुमतप्राप्त संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेपछि नयाँ सरकार गठन हुनेछ ।

    ‘ढिलोमा १० चैतभित्र देशले नयाँ सरकार पाउने देखिन्छ,’ संसद् सचिवालय प्रवक्ता गिरी भन्छन् । उनका अनुसार निर्वाचन मतपरिणाम सार्वजनिक भएको ३० दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउनुपर्ने संवैधानिक व्यवस्था छ । अन्तिम मतपरिणाम सार्वजनिक भएपछि मन्त्रिपरिषद्ले संसद् अधिवेशन आह्वान सिफारिस गर्छ । राष्ट्रपतिबाट आह्वान भएर बैठक बस्छ । सरकार बैठक बस्नुअघि वा पछाडि गठन हुन सक्छ ।

    बैठक बस्नुअघि संसद् सचिवालयले निर्वाचित सदस्यहरूलाई शपथ गराउँछ । निर्वाचित ज्येष्ठ सदस्यले राष्ट्रपतिसँग शपथ लिन्छन् । ज्येष्ठ सदस्यबाट अन्य सदस्यले शपथ लिन्छन् । ‘प्रतिनिधिसभाले सरकार बनाउनेभन्दा पनि बनेको सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ भन्ने संविधानको व्यवस्था हो,’ गिरीले भने ।

    संविधान निर्माणपछि पहिलोपटक धारा ७६(१)को सरकार
    २१ फागुनमा सम्पन्न निर्वाचनमा रास्वपाले एक्लै बहुमत ल्याएपछि पहिलोपटक संविधानको धारा ७६(१) को कार्यान्वयन हुने भएको छ । ३ असोज ०७२ मा संविधान जारी भएपछि कुनै पनि दलले एकल बहुमत प्राप्त गर्न नसक्दा धारा ७६(१) को कार्यान्वयन हुन सकेको छैन । ७६(१) मा ‘प्रतिनिधिसभामा बहुमतप्राप्त संसदीय दलको नेता प्रधानमन्त्री नियुक्त हुने’ व्यवस्था छ ।

    ०७४ मा एमाले र माओवादी गठबन्धन भई झन्डै दुईतिहाइ बहुमत प्राप्त गर्दा ७६(२) अनुसार नै सरकार बनेको थियो । पछि दुई पार्टी मिलेर नेकपा बन्दा सरकार ७६(१) मा परिणत भएको भनिएको थियो । तर, उक्त सरकार ७६(२), ७६(३) हुँदै विघटन नै भएको थियो ।

    संसद् सचिवालयका अनुसार ०७२ मा संविधान बनेपछि स्पष्ट बहुमत प्राप्त गर्ने दल रास्वपा नै हो । संविधान निर्माणको १० वर्षपछि रास्वपाले ७६(१) अनुसार बहुमतको एकमना सरकार बनाउन लागेको हो । रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार बनाउँदै छ । त्यसअगाडि उसले बालेनलाई संसदीय दलको नेता चुन्नुपर्नेछ ।

    मिश्रित निर्वाचन प्रणालीमै दुईतिहाइ बहुमत
    rabi balen०६२/०६३ को आन्दोलनपछि नेपालमा प्रत्यक्ष र समानुपातिक गरी मिश्रित निर्वाचन प्रणाली लागू भयो । यस्तो निर्वाचन प्रणालीमा कुनै एक दलले बहुमत ल्याउन नसक्ने भाष्य नेपालमा स्थापित नै भइसकेको थियो । तर, यसपालि रास्वपाले एक्लै झन्डै दुईतिहाइ ल्याइदिएर यो भाष्य भत्काइदियो ।

    ०६४ र ०७० मा संविधानसभा चुनाव भयो । कुनै दलको स्पष्ट बहुमत आएन । ०७२ मा संविधान बन्दा प्रत्यक्ष १६५ र समानुपातिक ११० सिटसहित २७५ सदस्यीय प्रतिनिधिसभा हुने व्यवस्था गरियो । ०७४ र ०७९ को निर्वाचनमा दलको एकल बहुमत र दुईतिहाइ प्राप्त भएन । दलहरूले गठबन्धन गरेर बहुमत जुटाए पनि सरकार परिवर्तन, गठबन्धन परिवर्तन भइरह्यो । स्थिरता नहुनुको दोष निर्वाचन प्रणालीलाई दिन थालियो । दल, नेता मात्रै होइन, राजनीतिक विश्लेषक पनि प्रणालीलाई नै दोष देखाउन थाले । तर, निर्वाचन आयोगका अधिकारीले भने प्रणालीभन्दा दलकै कार्यशैलीमा समस्या देख्थे ।

    अहिलेको निर्वाचनले प्रणालीभन्दा दलमै समस्या रहेको पुष्टि गरेको बताउँछन्, पूर्वप्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया । जनतासँग गरेको वाचाअनुसार काम नगर्ने, चुनाव जित्न गठबन्धन गर्ने, जातीय र क्षेत्रवादी दल खोलेर संकीर्ण राजनीति गर्ने प्रवृत्ति अँगालेर प्रणालीलाई दोष दिने कुरालाई अहिले मतदाताले खारेज गरेको उनको भनाइ छ । थपलियाले चुनाव महँगो भयो भन्ने भाष्यलाई पनि अहिलेको निर्वाचनले खारेज गरेको बताए ।

    ‘राजनीतिक दलहरूले आफ्नो नीति, सिद्धान्त, कार्यक्रम, प्रतिबद्धताअनुसार काम नगरेपछि स्वाभाविक रूपमा मतदाताहरू विकर्षित हुन्छन् । यदि राम्रो नीति–विचार लिएर जानुभयो, ढाँट्नुभएन, वाचा पूरा गर्नुभयो भने त्यो दलप्रति निरन्तर भरोसा रहिरहन्छ । विश्वमा पूर्ण समानुपातिक प्रणाली भएका देशमा पनि शासन चलेको छ । नेपालमा पनि एकै दलले बहुमत प्राप्त गरेको संसद्ले एउटा कार्यकाल पूरा गरेको छैन । ०१५, ०४८, ०७४ मा पूर्ण बहुमत थियो । तर, बहुमत हुँदैमा चल्छ भन्ने हुँदैन,’ उनले भने, ‘राजनीति भनेको संस्कार पद्धति हो । जनतालाई विश्वासमा लिन सक्यो भने कुनै पनि प्रणालीमा बहुमत ल्याएर सुशासनयुक्त शासन गर्न सकिन्छ ।’

    समानुपातिक सांसदको नाम छानेर पठाउन ६ दललाई पत्राचार
    निर्वाचन आयोगले थ्रेसहोल्ड कटाएका ६ दललाई समानुपातिक सिटमा निर्वाचित गर्नुपर्ने उम्मेदवारको नाम बन्दसूचीबाट छानेर पठाउन पत्राचार गरेको छ । आयोगका अनुसार समानुपातिकतर्फ रास्वपाले ५७, कांग्रेसले २०, एमालेले १६, नेकपाले नौ, श्रम संस्कृतिले चार र राप्रपाले चार सिट प्राप्त गरेका छन् । निर्वाचन निर्देशिकाको दफा ३५ बमोजिम तीन दिनभित्र उम्मेदवारको नाम छनोट गरी आयोगसमक्ष पेस गर्न पत्राचार गरिएको आयोगका प्रवक्ता नारायण भट्टराईले बताए ।

    रास्वपाको सरकार बन्दा मन्त्री कसले छान्छ, मन्त्रिपरिषद्‌ कत्रो हुन्छ

    समानुपातिक निर्वाचन प्रणालीतर्फको पनि मतगणना सकिएसँगै धेरैको ध्यान नयाँ सरकार कहिलेसम्म बन्छ भन्नेतर्फ मोडिएको देखिन्छ। प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीतर्फ गरी दुईतिहाइ बहुमतनजिकै पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को नेतृत्वमा नयाँ सरकार बन्ने बताएका छन्। निर्वाचनमा सहभागी हुँदा पार्टीले उनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको थियो।

    रास्वपाका एक नेताले समानुपातिक सांसदहरूको टुङ्गो लागेसँगै सरकार गठनको विषयमा आफूहरूले छलफल अगाडि बढाउने बताए। निर्वाचन आयोगले समानुपातिकतर्फका सांसद छान्न दलहरूलाई चाँडै चिठी पठाउने आयुक्त सगुन शम्शेर जबराले बीबीसीलाई बताए। “सकेसम्म आजै पत्र पठाउने हाम्रो प्रयास छ,” उनले भने।

    समानुपातिक सांसद छान्नका निम्ति दुई दिनको समय दिन सकिने भन्दै जबराले चैत्र ५ गतेभित्र अन्तिम निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने योजना रहेको जनाए।

    सरकार कहिले बन्छ?
    balen rabiराजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ पाएका मतका आधारमा बिहीवारसम्म सीट बाँडफाँट गरिने आयोगका अधिकारीले बताएका छन्। तीन प्रतिशत ‘थ्रेश्होल्ड’ कटाएका रास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक सीट पाउने छन्। समानुपातिक सांसद छान्न आयोगले चिठी पठाएपछि सरकार गठनबारे छलफल थालिने रास्वपाका नेताले बताएका छन्।

    “दुई-तीन दिन त्यसमा लाग्ला। सांसद कोको बन्ने छन् त्यस आधारमा बल्ल सरकार गठनबारे कुरा अगाडि बढ्छ,” खनालले भने। “अत्यन्त प्रारम्भिक र अनौपचारिक संवाद भएको छ। पार्टीभित्र एक-दुई दिनभित्र ‍औपचारिक छलफल सुरु हुन्छ,” उनले भने।

    विज्ञलाई कि सांसदलाई मन्त्री बनाउने भन्ने विषयमा बहस सुरु भएको छ, कसले मन्त्री छान्छन्?
    वरिष्ठ नेता बालेनलाई प्रधानमन्त्री बनाउने भनेको रास्वपाले मन्त्री छान्नेसहितका विषयमा ‍औपचारिक रूपमा अहिलेसम्म केही बोलेको छैन। बालेन सरकारका मन्त्रिपरिषद्‌मा कोको समेटिन्छन् र उनीहरूलाई कसले छान्छन् भन्नेबारे चासो बढेको छ।

    रास्वपाका केन्द्रीय सदस्य एवं भूतपूर्व शिक्षामन्त्री शिशिर खनाल मन्त्री चयनमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहकै भूमिका रहने बताउँछन्। “पहिलाको अभ्यासमा हामीले पार्टी सभापतिलाई [मन्त्री छान्ने] जिम्मेवारी दिने गर्थ्यौँ। मलाई लाग्छ यस पटक दुई जनाको भूमिका महत्त्वपूर्ण हुन्छ,” उनले भने।

    केही दिनअघि रास्वपा नेता तथा भूतपूर्व सांसद असिम शाहले वरिष्ठ नेता बालेन शाह आफैँले मन्त्री छान्ने जानकारी दिँदै मन्त्री पदका लागि “दौडधुप नगर्न” भन्दै सामाजिक सञ्जालमा लेखेका थिए।

    “मन्त्री बन्न दौडधुप गर्न, भनसुन गर्न, मिडिया ट्रायल गर्न वा प्रचार गर्न आवश्यक छैन, केही नगरे पनि हुन्छ। जब बालेन शाह प्रधानमन्त्रीका रूपमा नियुक्त हुनुहुन्छ, उहाँले आफ्नो क्याबिनेटको टीम आफैँ छनोट गरेर बनाउनुहुने छ। उहाँलाई सबै सांसदहरूको योग्यता र क्षमताबारे राम्रो जानकारी छ,” फेसबुकमा उनले लेखेका छन्।

    मन्त्रीमा विज्ञ कि सांसद?
    rabi balen 1गैरसांसद विज्ञलाई कि सांसदलाई मन्त्री बनाउनुपर्छ भन्नेबारे अहिले बहस सुरु भएको छ। कार्यकारी प्रत्यक्ष प्रधानमन्त्रीसँगै संसद्‌बाहिरका विज्ञहरूलाई मन्त्री बनाउने रास्वपाले परिकल्पना गरेको नेता खनाल बताउँछन्। तर अहिलेको संवैधानिक व्यवस्थाअनुसार सङ्घीय संसद्‌बाहिरबाट छ महिनाका लागि मात्रै कुनै विज्ञलाई मन्त्री बनाउन सकिन्छ।

    “छ महिनापछि निरन्तरता दिनका लागि त फेरि उहाँहरूलाई सांसद बनाउनुपर्‍यो। हामीसँग छ महिनाभित्रै सांसद बनाउने विकल्प खासै छैन,” खनालले भने। “निर्वाचन भर्खरै सक्यो। राष्ट्रिय सभामा अहिले एउटा पद मात्र खाली छ। त्यस अर्थमा संविधान संशोधनबिना त्यो विषय कार्यान्वयनको सम्भावना म न्यून देख्छु।”

    यसअघि वाचा गरिएअनुसार सानो आकारको मन्त्रिपरिषद् बनाउने सोच रहेको रास्वपाका नेताहरूले बताएका छन्। “हाम्रो वाचापत्रमा नै १८ जनाको कुरा छ। पहिलो मन्त्रिपरिषद्‌ चाहिँ १५ को हाराहारीमा हुन सक्ने सम्भावना म बढी देख्छु,” खनालले भने।

    “ठूलोभन्दा पनि सानो आकारको स्पष्ट ढङ्गले सुशासन, पारदर्शिता र मितव्ययिताको सन्देश दिने गरेर पहिलो क्याबिनेट बन्छ,” उनले अगाडि थपे। खनालका अनुसार विगतको अभ्यास हेर्दा रास्वपाले सरकारलाई आवश्यक सरसल्लाह दिन पार्टीको एउटा समिति पनि गठन गर्न सक्छ।

    “दोस्रो पटक हामी सरकारमा जाँदा पार्टी र सरकारबीच समन्वय गर्नका लागि मेरै संयोजकत्वमा एउटा समिति बनेको थियो। त्यसैले संसद्, सरकार र पार्टीबीच समन्वयका लागि एउटा समिति बन्न सक्ने सम्भावना म देख्छु। तर औपचारिक निर्णय भएको छैन। मैले विगतको अनुभवका आधारमा भनेको हुँ,” उनले थपे।

    प्रदेशबारे के हुन्छ ?
    rabi lamichaneरास्वपाले दुईतिहाइभन्दा केही कम सीट जितेपछि प्रदेश संरचनाबारे उसले के गर्छ भन्नेबारे कतिपयमा जिज्ञासा रहेको पाइन्छ। तर खनाल संविधान संशोधनबिना प्रदेश संरचना सम्बन्धमा केही गर्न सकिने सम्भवना देख्दैनन्।

    “वाचापत्रमा पनि रास्वपाले के भनेको छ भने संविधान संशोधनसँग सम्बन्धित विषयहरूका लागि ‘डिस्कशन पेपर’ तयार गर्नका लागि एउटा कमिटी बन्छ र त्यसले छलफलहरू चलाउँछ,” उनले स्पष्ट पारे।

    “संविधान संशोधनजस्तो गम्भीर विषय राष्ट्रिय सहमतिमार्फत् गर्नुपर्ने भएकोले हाम्रो पहिलो चरणको ध्येय संविधान संशोधन पेपर तयार पार्ने भन्ने हुन्छ।”

    नेपालमा एकथरीले प्रदेश संरचना आवश्यक नरहेको तर्क गर्ने गरेका छन् भने अर्काथरीले भएका संरचनामा सुधार गर्दै बलियो बनाउनुपर्ने बताउने गरेका छन्। संविधानमा कुनै प्रकारको संशोधनका लागि सङ्घीय संसद्‌को दुवै सदनको तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको कम्तीमा दुईतिहाइ बहुमत आवश्यक पर्ने व्यवस्था छ।

    छलफलमा जुटे रवि बालेनसहितका नेता

    rabi and balenराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अस्वस्थ भएपछि नयाँ सरकार गठन र पार्टीका महत्त्वपूर्ण निर्णय छलफल उनको निवासमै भइरहेको छ । चुनावी दौडधुपका कारण केही दिनदेखि बिरामी परेका लामिछाने हाल बूढानीलकण्ठस्थित घरमै आराम गरिरहेका छन् । उनको सचिवालयका अनुसार लामिछानेलाई ज्वरो र पिसाब संक्रमण (युरिन इन्फेक्सन) देखिएको छ ।

    चिकित्सकले लामिछानेलाई अझै एक–दुई दिन आराम गर्न सुझाएका छन् । लामिछानेको स्वास्थ्य अवस्थाका कारण पछिल्ला दिनमा पार्टीका शीर्ष नेताहरूबीचको छलफल पनि उनको निवासमै भइरहेको स्रोतको भनाइ छ । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बिहीबार लामिछानेलाई भेट्न निवासमै पुगेका थिए । निर्वाचन परिणाम सार्वजनिक भएपछि उनीहरूबीच भएको यो पहिलो भेट हो ।दुई नेताबीच वान–टु–वान छलफल भएको जनाइएको छ।

    फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा करिब दुई तिहाइको जित ल्याएपछि रास्वपाभित्र सरकार गठनको विषयमा छदलफल भइरहेको छ । चुनावअघि नै पार्टीले वरिष्ठ नेता बालेनलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको थियो । यसैबीच पार्टी कार्यालय वनस्थलीस्थित घण्टीघरमा भने नेता–कार्यकर्ता भेटघाटका लागि पुगिरहेका छन् । त्यहाँ उपसभापति डीपी अर्यालले नवनिर्वाचित सांसद तथा नेता–कार्यकर्तासँग भेटघाट गरिरहेका छन् ।

    अहिले समानुपातिक सांसद चयन, संसदीय दलको नेतृत्व प्रक्रिया मिलाउने तथा सम्भावित मन्त्रिपरिषद् गठन आन्तरिक गृहकार्य भइरहेको छ । निर्वाचन आयोगले बिहीबार तीनदिनको समय दिएर समानुपातिकतर्फ पठाउने उम्मेदवारहरूको सूची पठाउन दलहरुलाई पत्र पठाएकाले पनि रास्वपाले त्यसलाई टुंग्याउने तयारी गरेको छ । रास्वपाको विधानले बालेनलाई प्रधानमन्त्री बनाउन सहज नहुने भएपछि त्यसलाई मिलाउने विषयमा पनि छलफल भइरहेको स्रोतको भनाइ छ।

    प्रधानमन्त्री छान्ने प्रक्रियामा रास्वपाrabi balan

    समानुपातिक सांसद चयन र विधान निर्वाचित हुने उम्मेदवारको नाम र संसदीय दलको नेता निर्वाचनसम्बन्धी विधानको व्यवस्था संशोधनको सिफारिस सचिवालय बैठकले गर्ने, त्यसमा केन्द्रीय समितिले निर्णय गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक प्रणालीबाट निर्वाचित हुने उम्मेदवार चयन, विधान संशोधनलगायत विषयमा छलफल गर्न सचिवालय बैठक बोलाएको छ । पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहबीच छलफल भएपछि शनिबारका लागि सचिवालय बैठक बोलाइएको हो ।

    सचिवालय बैठकलगत्तै केन्द्रीय समिति बैठक बोलाएर समानुपातिकबाट सांसद हुनेहरूको सूची टुंगो लगाउने र संसदीय दलको नेता निर्वाचनसम्बन्धी व्यवस्था विधानमा संशोधन गर्ने रास्वपाको तयारी छ । रास्वपाले समानुपातिकमा ५७ सिट प्राप्त गरेको छ । समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्नेहरूको सूची आइतबारसम्म पेस गर्न दलहरूलाई निर्वाचन आयोगले बिहीबार पत्र लेखेको थियो ।

    सचिवालय बैठकको समय र स्थान भने तय भइनसकेको रास्वपा प्रवक्ता मनीष झाले बताए । ‘पार्टी सभापतिको निर्देशनअनुसार सचिवालयको बैठक शनिबार बस्ने भएको छ । बैठकको समय र स्थान सभापतिको स्वास्थ्य अवस्थालाई ख्याल गरेर तय गरिनेछ,’ उनले भने । रास्वपा सभापति लामिछाने चिकित्सकको सल्लाहबमोजिम ‘बेड रेस्ट’ मा छन् । झाका अनुसार सचिवालय बैठकले समानुपातिक प्रणालीबाट निर्वाचित हुने उम्मेदवारहरूको नाम सिफारिस गरिनेछ ।

    सचिवालय बैठक बोलाउनुअघि सभापति लामिछाने र वरिष्ठ नेता शाहबीच छलफल भएको थियो । वरिष्ठ नेता शाहले सभापति लामिछानेलाई बिहीबार घरै पुगेर भेटेका थिए । पार्टीका सम्बन्धमा दुवै नेताबीच निरन्तर छलफल भइरहेको रास्वपा सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् । उनले भनिन्, ‘पार्टी सभापति र वरिष्ठ नेताबीच भेटघाट नियमित भइरहेको छ ।’

    रास्वपा वरिष्ठ नेता शाहलाई भावी प्रधानमन्त्री घोषणा गरेर निर्वाचनमा गएको थियो । प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले १ सय ८२ सिट जितेको छ । प्रतिनिधिसभामा झन्डै दुईतिहाइ सिट जितेको रास्वपाका सभापति लामिछाने र वरिष्ठ नेता शाह प्रत्यक्ष भेटेर र फोनमार्फत संवादमा रहेको उनीहरू निकटका नेताले बताएका छन् । प्रवक्ता झाले भने, ‘सभापति लामिछाने र वरिष्ठ नेता शाहले आगामी प्रक्रियाबारे छलफल गर्नुभएको छ, उहाँहरूबीच अनौपचारिक छलफल भइरहेको छ ।’

    नेताहरूका अनुसार लामिछाने र शाहबीच बिहीबार बिहान करिब २ घण्टा छलफल भएको थियो । त्यस क्रममा संसदीय दलको नेता चयनको प्रक्रिया, सरकार गठनको प्रक्रिया, सरकार गठन भएपछि मन्त्रिपरिषद् बिस्तारलगायत विषयमा छलफल भएको थियो । मन्त्री र अन्य नियुक्तिका सम्बन्धमा सार्वजनिक सञ्चारमाध्यममा आइरहेका विषयबारे पनि उनीहरूबीच कुराकानी भएको ती नेताले बताएका छन् ।

    रास्वपाले पार्टी विधानको धारा ६६ मा रहेको संसदीय दलका नेताको निर्वाचनसम्बन्धी प्रावधान संशोधन गर्न लागेको छ । विधानको धारा ६६ (८) मा पार्टीका साधारण सदस्यले संसदीय दलको नेता चयन गर्ने व्यवस्था छ । धारा ६६ को उपधारा ८ (क) मा भनिएको छ, ‘संघीय निर्वाचनअगावै पार्टीका तर्फबाट संघीय निर्वाचनका लागि समानुपातिक र प्रत्यक्षतर्फ छनोट भएका उम्मेदवारमध्ये इच्छुक उम्मेदवारहरूबीच प्रतिनिधिसभा संसदीय दलको नेता छनोटका लागि निर्वाचन हुनेछ । (दल नेताको) निर्वाचनमा पार्टीका सम्पूर्ण साधारण सदस्यहरू मतदाता हुन पाउनेछन् ।’

    रास्वपाका सांसद मात्र नभई साधारण सदस्य पनि संसदीय दलका नेताको निर्वाचनमा मतदाता हुन पाउने व्यवस्था राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा २५ सँग बाझिएकाले पनि विधान संशोधन गर्न लागिएको हो । ऐनमा लेखिएको छ, ‘सम्बन्धित दलको निर्देशनबमोजिम संघीय संसद् वा प्रदेशसभाको संसदीय दलका सदस्यले आफूमध्येबाट एक जना संसदीय दलको नेता निर्वाचित गर्नेछ ।’

    विधान संशोधन गरेसँगै रास्वपाले वरिष्ठ नेता शाहलाई संसदीय दलको नेता निर्वाचित गर्नेछ । त्यसपछि राष्ट्रपति रामचन्द्र पौडैलले उनलाई प्रधानमन्त्री नियुक्ति गर्नेछन् । प्रतिनिधिसभामा रास्वपाको एकल बहुमत रहेकाले उक्त दलका नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ति गर्नेछन् । संविधानको धारा ७६ (१) मा ‘राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुनेछ’ भन्ने उल्लेख छ ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images