काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अस्वस्थ भएपछि नयाँ सरकार गठन र पार्टीका महत्त्वपूर्ण छलफल उनको निवासमै भइरहेको छ ।
चुनावी दौडधुपका कारण केही दिनदेखि बिरामी परेका लामिछाने हाल बूढानीलकण्ठस्थित घरमै आराम गरिरहेका छन् ।
उनको सचिवालयका अनुसार लामिछानेलाई ज्वरो र पिसाब संक्रमण ९युरिन इन्फेक्सन० देखिएको छ ।
चिकित्सकले लामिछानेलाई अझै एक-दुई दिन आराम गर्न सुझाएका छन् ।
लामिछानेको स्वास्थ्य अवस्थाका कारण पछिल्ला दिनमा पार्टीका शीर्ष नेताहरूबीचको छलफल पनि उनको निवासमै भइरहेको स्रोतको भनाइ छ ।
रास्वपाका वरिष्ठ नेता बालेन शाह बिहीबार लामिछानेलाई भेट्न निवासमै पुगेका थिए ।
निर्वाचन परिणाम सार्वजनिक भएपछि उनीहरूबीच भएको यो पहिलो भेट हो । दुई नेताबीच वान-टु-वान छलफल भएको जनाइएको छ।
फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा करिब दुई तिहाइको जित ल्याएपछि रास्वपाभित्र सरकार गठनको विषयमा छदलफल भइरहेको छ ।
चुनावअघि नै पार्टीले वरिष्ठ नेता बालेनलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको थियो ।
यसैबीच पार्टी कार्यालय वनस्थलीस्थित घण्टीघरमा भने नेता-कार्यकर्ता भेटघाटका लागि पुगिरहेका छन् । त्यहाँ उपसभापति डीपी अर्यालले नवनिर्वाचित सांसद तथा नेता-कार्यकर्तासँग भेटघाट गरिरहेका छन् ।
अहिले समानुपातिक सांसद चयन, संसदीय दलको नेतृत्व प्रक्रिया मिलाउने तथा सम्भावित मन्त्रिपरिषद् गठन गर्न आन्तरिक गृहकार्य भइरहेको छ ।
निर्वाचन आयोगले बिहीबार तीनदिनको समय दिएर समानुपातिकतर्फ पठाउने उम्मेदवारहरूको सूची पठाउन दलहरुलाई पत्र पठाएकाले पनि रास्वपाले त्यसलाई टुंग्याउने तयारी गरेको छ ।
रास्वपाको विधानले बालेनलाई प्रधानमन्त्री बनाउन सहज नहुने भएपछि त्यसलाई मिलाउने विषयमा पनि छलफल भइरहेको स्रोतको भनाइ छ ।























