काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मतगणना सकिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नयाँ सरकार गठनको तयारीमा जुटेको छ ।
परिणामअनुसार रास्वपाले झन्डै दुईतिहाइ जनमत प्राप्त गरेको दाबी गरिएको छ ।
पार्टीभित्र सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बीच नयाँ सरकारको संरचना र मन्त्रिपरिषद् गठनबारे आन्तरिक छलफल भइरहेको बताइएको छ ।
लामिछाने हाल खुट्टाको पुरानो इन्फेक्सनका कारण आराममा रहे पनि नेताहरूबीच परामर्श जारी रहेको उनका स्वकीय सचिव अविनाश आचार्यले बताएका छन् ।
यसअघि नै भएको सहमतिअनुसार बालेन नै संसदीय दलको नेता र भावी प्रधानमन्त्री बन्ने तयारी भइरहेको स्रोतहरू बताउँछन् ।
यद्यपि, संसदीय दलको औपचारिक बैठक भने अझै बसिसकेको छैन ।
सरकार गठनसँगै सम्भावित मन्त्रीहरूको विषय पनि चर्चा हुन थालेको छ ।
तनहुँ–१ बाट निर्वाचित डा. स्वर्णिम वाग्ले अर्थमन्त्री बन्ने सम्भावना बलियो देखिएको छ, जसलाई सभापति लामिछानेले चुनावअघि नै संकेत गरेका थिए ।
निर्वाचन आयोगले अन्तिम परिणाम राष्ट्रपतिसमक्ष बुझाएपछि संविधानको धारा ७६(१) अनुसार बहुमत प्राप्त दलका हैसियतमा रास्वपाको नेतृत्वमा नयाँ सरकार गठन प्रक्रिया अघि बढ्नेछ ।























