काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुईतिहाइ नजिकको जनमतसहित सरकार गठनको तयारीमा लागेपछि भावी प्रधानमन्त्रीका रूपमा हेरिएका बालेन शाहको क्याबिनेट कस्तो बन्छ भन्ने विषयमा व्यापक चासो बढेको छ ।
पार्टीभित्रको छलफल अनुसार बालेनले मन्त्री चयनमा विज्ञता र काम गर्ने क्षमता भएका सांसदलाई प्राथमिकता दिने संकेत गरेका छन् ।
सभापति रवि लामिछानेलाई उनले पार्टी र संसदीय व्यवस्थापन सम्हाल्न आग्रह गर्दै क्याबिनेट चयन आफूले गर्ने बताएका स्रोतको दाबी छ ।
अर्थ मन्त्रालयका लागि डा. स्वर्णिम वाग्ले र सुशान्त वैदिकको नाम चर्चामा छ ।
गृह मन्त्रालयमा डोलप्रसाद (डीपी) अर्याल र सुनिल लम्सालबीच प्रतिस्पर्धा देखिएको छ ।
परराष्ट्र मन्त्रालयका लागि शिशिर खनाल, सञ्चार तथा सरकारका प्रवक्ताका रूपमा सस्मित पोखरेल, स्वास्थ्यमा तोसिमा कार्की वा डा. लेखजंग थापाको नाम अघि आएको छ ।
महिला मन्त्रालयमा इन्दिरा राना मगर, कानुनमा सोविता गौतम तथा युवा तथा खेलकुदमा सुदन गुरुङको चर्चा भइरहेको छ ।
रास्वपाले मन्त्रालय संख्या घटाएर करिब १५ सदस्यीय क्याबिनेट बनाउने तयारी गरिरहेको बताइएको छ ।
बालेनले काठमाडौं महानगरमा आफूले सँगै काम गरेका केही विज्ञ सांसदलाई पनि टिममा समेट्ने योजना बनाइरहेको स्रोतहरू बताउँछन् ।
यद्यपि अन्तिम निर्णय भने प्रधानमन्त्रीको चयनसँगै मात्र निश्चित हुने भएकाले क्याबिनेटमा अन्तिम समयसम्म परिवर्तन हुन सक्ने नेताहरूको भनाइ छ ।























