काठमाडौं– इरानले अब दुबईका बैंक र वित्तीय केन्द्रलाई निसाना बनाउन थालेको संकेत देखिएको छ ।
बिहीबार ड्रोनमार्फत दुबईको वित्तीय क्षेत्रमा हमला गरिएको बताइएको छ ।
उक्त ड्रोन खसे पनि घटनामा कुनै मानवीय क्षति भएको छैन ।
तर, यसले जारी युद्धको प्रभाव दुबईको व्यापार र बैंकिङ क्षेत्रमा पनि पर्न सक्ने चिन्ता बढाएको छ ।
इरानले अमेरिका र इजरायलको आक्रमणको जवाफस्वरूप पश्चिमी बैंकहरूलाई लक्ष्य बनाउने चेतावनी दिएको थियो ।
यस घटनापछि अमेरिकी बैंक सिटीबैंकले संयुक्त अरब इमिरेट्समा रहेका आफ्ना अधिकांश शाखा अस्थायी रूपमा बन्द गर्दै कर्मचारीलाई टाढैबाट काम गर्न निर्देशन दिएको छ ।
अन्य केही बैंक तथा व्यवसायहरूले पनि सुरक्षा सतर्कता बढाएका छन् ।
बिहीबार बिहान दुबईको आकाशमा ड्रोन देखिँदा तत्काल कुनै खतरा सूचनासमेत जारी नभएको जनाइएको छ ।
यसले इरानी ड्रोन वा मिसाइलहरू राडारबाट बच्न सक्ने सम्भावनाबारे पनि चर्चा बढाएको छ ।
यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धमा आफूहरू जितको नजिक पुगेको दाबी गरिरहेका छन् ।
तर इरानले तेल, ढुवानी र बैंकिङजस्ता पश्चिमका महत्वपूर्ण क्षेत्रलाई निशाना बनाउँदै आर्थिक दबाब बढाइरहेको बताइएको छ ।
दुबई पनि अहिले त्यही जोखिममा परेको क्षेत्रमध्ये एक मानिएको छ ।


विश्व खबर 



















