images
images
  • आजको मौसमः पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, होशियारी अपनाउन आग्रह

    काठमाडौं । आज पनि देशभरको मौसममा बदली आएको छ । शनिबारदेखि नै पुनः मनसुन सक्रिय भएको हो । मनसुन सक्रिय भएसँगै फेरि पानी पर्ने क्रम बढेको मौसमविदले बताएका छन् ।

    मनसुन सक्रिय रहेका कारण आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश–१, वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चचिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

    आज राति देशभर सामान्यदेखि पूर्ण बदली हुँदा धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, गण्डकी, लुम्बिनी र सुदूरपश्चचिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

    सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । देशको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images