काठमाडौं– फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अन्तिम समानुपातिक मत परिणाम सार्वजनिक भएको छ।
कुल १ करोड ८ लाख ३५ हजार २७ सदर मतमध्ये नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले १४ लाख ५५ हजार ८८५ मत अर्थात् १३.४३ प्रतिशत मत प्राप्त गरेको छ।
यस परिणामसँगै एमाले संघीय संसदमा तेस्रो ठूलो दल बनेको छ।
प्रत्यक्षतर्फ ९ सिट जितेको एमालेले समानुपातिकतर्फ १६ सिट प्राप्त गरेको छ।
यसरी प्रतिनिधिसभामा एमालेका कुल २५ सांसद हुने भएका छन्।
समानुपातिकबाट प्राप्त १६ सिटमध्ये संघीय संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व कायम गर्न एमालेले कम्तीमा ५ जना महिला पठाउनुपर्नेछ भने बाँकी ११ जना पुरुष हुन सक्नेछन्।
बन्दसूचीका आधारमा विभिन्न समावेशी समूहबाट प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने व्यवस्था छ।
खस–आर्य र आदिवासी जनजातिबाट ५–५, मधेशीबाट ३, दलितबाट २ र थारूबाट १ जना पठाउनुपर्ने देखिएको छ।
ती समूहमा बन्दसूचीमा रहेका नेतामध्येबाट महिला–पुरुष सन्तुलन मिलाएर सांसद चयन गरिनेछ।
एमालेले समानुपातिकतर्फबाट पठाउने अन्तिम नामावली भने अझै निर्वाचन आयोगमा पेश गरेको छैन।
आयोगले दलले पाएको समूहगत सिट संख्या औपचारिक रूपमा पठाएपछि मात्रै अन्तिम सूची बुझाइने एमालेले जनाएको छ।























