काठमाडौं– फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको दोस्रो दिन (फागुन २८) एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको अपेक्षाअनुसार नतिजा नआए पनि हार स्वीकार गरेका छन् ।
उनले लोकतन्त्रमा जनताको निर्णय नै अन्तिम हुने भएकाले जनमतको पूर्ण सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सिटका लागि भएको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ ९ सिट र समानुपातिकतर्फ १६ सिट मात्र पाएको छ ।
कुल २५ सांसदसहित एमाले संसदमा तेस्रो ठूलो दलमा झरेको छ ।
यसअघि २०७९ को निर्वाचनमा एमाले प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ सिटमा विजयी भएको थियो ।
चुनावी नतिजापछि पार्टीभित्र समीक्षा सुरु भएको छ ।
नेताहरू शंकर पोखरेल, योगेश भट्टराई, विष्णु पौडेल, सुरेन्द्र पाण्डेले नेतृत्व र नीतिबारे गम्भीर समीक्षा आवश्यक ठानेका छन् ।
उपमहासचिव योगेश भट्टराईले नेतृत्वको राजीनामा र पार्टी पुनर्गठनको बहस उठाएका थिए भने गण्डकीका स्वास्थ्य मन्त्री कृष्ण पाठकले भट्टराईलाई ‘अराजक अभिव्यक्ति’ भएको आरोप लगाएका छन् ।
पूर्वमन्त्री विद्या भट्टराईले भने केवल आरोप–प्रत्यारोपमा नअल्झिएर नेतृत्वलाई आत्ममन्थन गर्न सुझाव दिएकी छन् ।
उनले कम्युनिस्ट पार्टीको दर्शन, आदर्श र व्यवहारलाई सँगै लैजानुपर्ने आवश्यकता औँल्याइन् ।
यद्यपि, अध्यक्ष ओली नेतृत्व छाड्न तयार छैनन् ।
उनका निकटस्थ नेताहरूका अनुसार ओलीको भनाइ छ, ‘गल्ती सुधार गर्न सकिन्छ, तर नेतृत्व छोड्नु समस्याको समाधान होइन ।’
आगामी एमाले बैठकमा अध्यक्षको राजीनामाबारे छलफल हुनसक्ने तयारी छ ।























