images
images
  • यी हुन् थ्रेसहोल्ड नकटाउने दल

    काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ ८ लाख ९० हजार ७८६ मत खेर गएको छ। तीन प्रतिशत थ्रेसहोल्ड नकटाउने दलहरूले पाएको कुल मत नै खेर गएको हो।

    समानुपातिक प्रणालीअनुसार ३ प्रतिशतभन्दा बढी मत ल्याउने दलका उम्मेदवार मात्र प्रतिनिधिसभामा पुग्ने व्यवस्था छ। यसपटक भएको निर्वाचनमा कुल १ करोड ८ लाख ३५ हजार २७ मत खसेको थियो।

    २१ फागुनमा सम्पन्न मतदानबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्र समानुपातिकतर्फ प्रतिनिधित्व सुनिश्चित गर्न सके।

    समानुपातिकतर्फ रास्वपाले सबैभन्दा बढी ५१ लाख ८३ हजार ४९३ मत ल्याएको छ। सबैभन्दा कम मत भने त्रिमुल नेपाल पार्टीले ६९४ मत प्राप्त गर्दै पाएको छ। उक्त पार्टीका अध्यक्ष भरतमणि दाहाल हुन्।

    यता थ्रेसहोल्ड कटाउन नसक्ने दलहरूमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, डा. सीके राउतको जनमत पार्टी, नारायणमान विजुक्छेको नेपाल मजदुर किसान पार्टी, चित्रबहादुर केसीको राष्ट्रिय जनमोर्चा, राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टी, अशोक राईको जसपा, र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी लगायत रहेका छन्।

    त्यस्तै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र जनार्दन शर्माको प्रगतिशील लोकतान्त्रिक पार्टी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी), प्रभु साहको आम जनता पार्टी, मोहम्मद रिजवान अन्सारीको नेपाल संघीय समाजवादी पार्टी तथा सीपी मैनालीको नेकपा (माले) लगायतका दलहरूले ३० हजारभन्दा कम मत ल्याएका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images