images
images
  • कालोसूचीमा परेका उम्मेदवार : धनुषामा मनोनयन रद्द, उदयपुरमा भने जित

    विराटनगर– कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका धनुषा–१ का प्रतिनिधिसभा उम्मेदवार किशोरी साह कमलको मनोनयन निर्वाचन आयोगले खारेज गरेको छ। निर्वाचनको दुई दिनअघि आयोगले उनको उम्मेदवारी रद्द गर्ने निर्णय गरेको थियो।

    यद्यपि, सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिह्न ‘घण्टी’मा उल्लेख्य मत खसेको थियो। तर अन्ततः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार मात्रिका यादव निर्वाचित घोषित भइसकेका छन्।

    उता उदयपुर क्षेत्र नम्बर–२ मा भने कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका उम्मेदवार नै विजयी भएका छन्। रास्वपाका सूर्यबहादुर तामाङ १४ हजार ८०२ मतसहित निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी एमालेका अम्बरबहादुर रायामाझीले ७ हजार ६४८ मत र कांग्रेसका रामकुमार राईले ७ हजार २९० मत पाए।

    कटारीका पर्यटन व्यवसायी तामाङ मकालु कान्जिरुवा अटो लिङ्क प्रालिका सञ्चालक हुन्। कम्पनीबाट काटिएका विभिन्न चेक बाउन्स भएपछि उनी कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका हुन्।

    रास्वपा स्रोतका अनुसार तामाङ कालोसूचीमा रहेको विषय पार्टीभित्र थाहा भए पनि उजुरी नपरेका कारण मनोनयन प्रक्रिया अघि बढेको थियो। निर्वाचन परिणाम घोषणा भइसकेकाले अब यसबारे आयोगले कारबाही गर्न नसक्ने र विवाद भए अदालतमा जान सकिने प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images