विराटनगर– दशकौँदेखि प्रमुख दलहरूको ‘गढ’ मानिँदै आएको कोसी प्रदेशको राजनीतिमा यसपटकको निर्वाचनले ठूलो फेरबदल ल्याएको छ ।
‘जेनजी’ आन्दोलनपछि बदलिएको जनमतले स्थापित दलहरूको प्रभाव कमजोर बनाउँदै नयाँ शक्तिलाई सशक्त रूपमा उभ्याएको छ ।
२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणामअनुसार कोसीका २८ निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १७ सिट जित्दै स्पष्ट अग्रता लिएको छ ।
नेकपा (एमाले) र नेपाली कांग्रेस भने ४–४ सिटमा सीमित भएका छन् ।
धरानका पूर्वमेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले तीन सिट जित्दै प्रदेश राजनीतिमा नयाँ शक्तिको रूपमा उदाएको छ ।
२०७९ को निर्वाचनमा एमालेले १३ सिट जितेर वर्चस्व कायम गरेको थियो भने कांग्रेसले ९ सिट जितेको थियो ।
तर तीन वर्षमै दुवै दलले ठूलो क्षति व्यहोरेका छन् ।
नेकपा भने यसपटक अधिकांश क्षेत्रमा प्रतिस्पर्धामा समेत देखिन सकेन ।
समानुपातिकतर्फ पनि रास्वपा पहिलो स्थानमा पुगेको छ ।
अघिल्लो निर्वाचनमा २ लाख ३१ हजार मत पाएको रास्वपाले यसपटक ८ लाख ५३ हजार मत प्राप्त गरेको छ ।
चार महिनाअघि मात्र गठन भएको श्रम संस्कृति पार्टी २ लाख ९२ हजार मतसहित दोस्रो स्थानमा पुगेको छ ।
अघिल्लो निर्वाचनमा ६ लाख ६५ हजार मतसहित पहिलो बनेको एमाले यसपटक २ लाख ८८ हजार मतमा खुम्चिएको छ भने कांग्रेस २ लाख ९० हजार मतसहित तेस्रो स्थानमा पुगेको छ ।
विश्लेषकहरूले यो परिणामलाई परम्परागत राजनीतिप्रतिको असन्तुष्टि र नयाँ विकल्पप्रतिको जनअपेक्षाको अभिव्यक्ति भन्दै आएका छन् ।
राजनीतिशास्त्री कृष्ण पोखरेलका अनुसार पुराना दलहरूले बदलिएको जनभावना बुझ्न नसक्दा नयाँ शक्तिप्रति आकर्षण बढेको हो ।























