images
images
  • इरानी शक्तिको गलत मूल्यांकनको फन्दामा अमेरिका, युद्ध अन्त्य गर्ने तयारीमा ट्रम्प, नेतान्याहुको आनाकानी

    काठमाडौं– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प इरानमाथि फेब्रुअरी १८ मा आक्रमण गर्ने वा नगर्ने भन्ने अवस्थामा रहँदा तेल आपूर्तिलाई लिएर गलत मूल्यांकन भइरहेको थियो ।

    ऊर्जा मन्त्री क्रिस राइटले एक अन्तर्वार्तामा यदि, युद्ध भयो भने मध्यपूर्वबाट हुने तेल आपूर्तिमा असर पर्नेछ वा तेल बजारमा ठूलो गडबडी हुनेछ भन्नेमा उनलाई कुनै चिन्ता नभएको बताएका थिए ।

    राइटले गत वर्ष जुनमा इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेका थिए, त्यतिबेला पनि तेल बजारमा खासै असर नपरेको बताएका थिए । उनका अनुसार त्यस समयमा तेलको मूल्य थोरै बढेको थियो । तर, छिट्टै फेरि तल झरेको थियो ।

    ट्रम्पका अन्य सल्लाहकारहरू पनि निजी रूपमा यस्तै राय राख्थे । चेतावनीहरूलाई बढाइचढाइ प्रस्तुत गरिएको र इरानले यसपटक पनि विश्वको करिब २० प्रतिशत तेल आपूर्ति र ओसारपसार हुने समुद्री मार्गहरू बन्द गर्ने छैन भन्नेमा विश्वस्त थिए ।

    तर, हालका दिनहरूमा यो गलत प्रमाणित भएको छ । इरानले होर्मुज जलमार्गबाट गुज्रने तेल ट्यांकरहरूमाथि आक्रमण गर्ने धम्की दिएको छ । यो त्यही महत्वपूर्ण समुद्री मार्ग हो, जहाँबाट फारसको खाडीबाट निस्कने सबै जहाजहरू गुज्रिन्छन् ।

    इरानको यी धम्कीहरूपछि खाडी क्षेत्रमा व्यावसायिक जहाजहरूको आवागमन लगभग रोकिएको छ । यस कारण तेलको मूल्य एक समय प्रतिब्यारेल ११० डलरसम्म पुगेको थियो । ट्रम्प प्रशासन अब आर्थिक संकटलाई नियन्त्रण गर्ने उपायहरू खोज्न जुटेको छ । यस संकटका कारण अमेरिकामा पेट्रोलको मूल्य बढेको छ ।
    यो घटनाले ट्रम्प र उनका सल्लाहकारहरूले इरानले यस युद्धमा कस्तो प्रतिक्रिया दिनेछ भन्ने विषयको गलत अन्दाज लगाएको देखाउँछ । इरानले यस संघर्षलाई आफ्नो अस्तित्वसँग जोडिएको खतरा मानेको छ ।

    इरानको जवाफ बढी आक्रामक

    गत वर्ष जुनमा भएको १२ दिनको युद्धको तुलनामा यसपटक इरानले धेरै गुणा बढी आक्रामक प्रतिक्रिया दिएको छ । उसले अमेरिकाका सैन्य अखडाहरू, मध्यपूर्वका धेरै अरब देशका सहरहरू र इजरायलका घना बस्ती भएका इलाकाहरूमा मिसाइल र ड्रोन हमला गरेको छ ।

    यी हमलाहरूका कारण अमेरिकी अधिकारीहरूले धेरै योजनाहरू तुरुन्तै परिवर्तन गर्नुपर्‍यो । केही स्थानहरूमा दूतावासहरू खाली गराउनुपर्‍यो र पेट्रोलको बढ्दो मूल्य नियन्त्रण गर्न नयाँ नीतिहरूमा काम गर्नुपर्‍यो ।

    ट्रम्पसँग युद्ध अन्त्य गर्ने योजना छैन

    यसैबीच, मंगलबार ट्रम्प प्रशासनका अधिकारीहरूले सांसदहरूलाई गोप्य कोठामा जानकारी दिएका थिए । त्यसपछि कनेक्टिकटका डेमोक्रेटिक सिनेटर क्रिस्टोफर मर्फीले सामाजिक सञ्जालमा लेख्दै प्रशासनसँग होर्मुज जलमार्गलाई पुनः सुरक्षित रूपमा खोल्ने कुनै योजना नभएको बताएका छन् ।

    प्रशासनभित्रै पनि केही अधिकारीहरू युद्ध अन्त्य गर्ने कुनै खाका नदेखिएकोमा निराश छन् । यद्यपि, उनीहरू यो विषय सिधै राष्ट्रपति ट्रम्पसँग भन्न हिचकिचाइरहेका छन्, किनकि ट्रम्पले बारम्बार सैन्य अभियान पूर्णरूपमा सफल भएको दाबी गरिरहेका छन् ।

    इरानलाई लिएर ट्रम्प र रक्षामन्त्रीको सोच फरक

    ट्रम्प प्रायः धेरै ठूला लक्ष्यहरूको कुरा गर्छन् । उनी इरानमा यस्तो नेता आओस् भन्ने चाहन्छन्, जसले अमेरिकाको कुरा मानोस् । तर, विदेश मन्त्री मार्को रुबियो र रक्षा मन्त्री ट्रम्पसँग सहमत छैनन् ।

    पीट हेगसेथले मंगलबार अमेरिकाले इराकमा जस्तो गल्ती इरानमा नगर्ने बताएका थिए । उनको भनाइमा इरानको मिसाइल शक्ति र सैन्य क्षमतालाई कमजोर बनाउनु नै वास्तविक उद्देश्य हो ।

    यदि, यो पूरा भयो भने युद्ध अन्त्य गर्ने बाटो निस्कन सक्छ । हेगसेथले इरानले आफ्ना छिमेकी देशहरूमाथि जसरी सशक्त जवाफी हमला गर्‍यो, त्यसको तीव्रताको अन्दाज पेन्टागनलाई पूर्ण रूपमा नभएको स्वीकार गरेका थिए ।

    तेल आपूर्तिमा परेको असरबाट ट्रम्प रुष्ट

    यसैबीच, ट्रम्पले तेल आपूर्तिमा युद्धको असर परेकोमा आफू रुष्ट भएको बताएका छन् । उनले फक्स न्युजसँग कुरा गर्दै तेल ट्यांकरका चालक दलका सदस्यहरूले ‘अलि हिम्मत देखाउनुपर्ने’ र होर्मुज जलमार्गबाट आवतजावत गरिरहनुपर्ने बताएका छन् ।

    केही सैन्य सल्लाहकारहरूले युद्धअघि नै इरानले धेरै आक्रामक जवाफ दिनसक्ने चेतावनी दिएका थिए । तर, अन्य केही सल्लाहकारहरूलाई यदि, इरानका शीर्ष नेताहरूलाई मारियो भने उनीहरूको ठाउँमा आउने नेताहरू बढी व्यावहारिक हुनेछन् र युद्ध अन्त्य गर्ने कोसिस गर्नेछन् भन्ने विश्वास थियो ।

    जब ट्रम्पलाई युद्धका कारण तेलको मूल्य बढ्नसक्ने बताइएको थियो, उनले यसलाई अस्थायी समस्या भन्दै खासै महत्व दिएका थिएनन् ।

    समुद्री बारुदी सुरुङ बिछ्याउँदै इरान

    अमेरिकी ऊर्जा मन्त्री क्रिस राइटले मार्च १० मा सामाजिक सञ्जालमा लेख्दै अमेरिकी नौसेनाले एउटा तेल ट्यांकरलाई सुरक्षित रूपमा होर्मुज जलसन्धि पार गराएको बताएका थिए ।

    यो पोस्टपछि तेल बजारमा उत्साह छायो, तर पछि अन्य अधिकारीहरूले त्यस्तो कुनै ‘एस्कर्ट अपरेसन’ नभएको बताएपछि राइटले पोस्ट हटाउनुपर्‍यो र बजार पुनः अस्थिर भयो ।
    अमेरिकी गुप्तचर निकायहरूले इरानले जलमार्गमा समुद्री बारुदी सुरुङहरू बिछ्याउने तयारी गरिरहेको जानकारी पाएका छन् ।

    अमेरिकी सेनाले मंगलबार साँझ जलमार्गनजिकै इरानका १६ वटा त्यस्ता जहाजहरूलाई निशाना बनाएको छ, जुन बारुदी सुरुङ बिछ्याउने तयारीमा थिए ।

    युद्ध अन्त्य गर्नु अमेरिकाका लागि अनिवार्य

    अमेरिकालाई युद्ध अन्त्य गर्ने बाटो खोज्नुपर्ने आवश्यकता बढेको छ । तेलको मूल्य तीव्र रूपमा बढिरहेको छ । र, अमेरिकाले ठूलो मात्रामा महँगा हतियारहरू प्रयोग गरिरहेको छ ।

    पेन्टागन अधिकारीहरूले सांसदहरूलाई बताएअनुसार युद्धको पहिलो दुई दिनमै करिब ५.६ अर्ब डलर बराबरका हतियारहरू प्रयोग भइसकेका छन् । यो आँकडा पहिले सार्वजनिक गरिएको भन्दा निकै बढी हो ।

    अर्कोतर्फ इरानका अधिकारीहरू अझै पनि कडा अडानमा छन् । इरानका वरिष्ठ राष्ट्रिय सुरक्षा अधिकारी अली लारिजानीले सामाजिक सञ्जालमा लेखेका छन्, “होर्मुज जलमार्ग कि त सबैका लागि शान्ति र समृद्धिको बाटो बन्नेछ, वा युद्ध चाहनेहरूका लागि हार र दुःखको बाटो ।” –द न्युयोर्क टाइम्स

    प्रतिक्रिया दिनुहोस्
    images
    images