काठमाडौं– प्रतिनिधिसभा निर्वाचनमा अपेक्षित नतिजा नआएपछि सभापति गगन थापा नेतृत्वको नेपाली कांग्रेसभित्र गम्भीर बहस सुरु भएको छ ।
निर्वाचनमा पार्टी दोस्रो दलमा सीमित बनेपछि सभापति थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिने मनस्थिति बनाएको स्रोतहरूको भनाइ छ ।
अघिल्लो प्रतिनिधिसभामा पहिलो दल रहेको कांग्रेस यसपटक प्रत्यक्ष र समानुपातिक दुवैतर्फ मत गुमाउँदै दोस्रो स्थानमा झरेको छ ।
पहिलो बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग कांग्रेस प्रत्यक्षतर्फ १०७ सिटले पछि परेको छ भने समानुपातिक मतमा पनि ठूलो अन्तर परेको छ ।
चुनावमा स्वयं थापा पराजित भएपछि उनीमाथि नैतिक प्रश्न उठ्न थालेका छन् ।
निकट नेताहरूका अनुसार थापाले पार्टीको हारको जिम्मेवारी लिएर पद त्याग गर्नु उचित हुने बताएका छन् ।
उनले उपसभापति सँगको भेटमा पनि राजीनामा दिने मनसाय व्यक्त गरेका थिए ।
तर, शर्माले अहिले राजीनामा उपयुक्त नहुने भन्दै समीक्षा गरेर अघि बढ्न सुझाव दिएका छन् ।
पार्टीभित्र भने दुई धार देखिएको छ ।
केही नेताहरूले पराजयपछि नेतृत्वले जिम्मेवारी लिनुपर्ने बताएका छन् भने अर्का नेताहरूले अहिले राजीनामा दिए पार्टी झन् संकटमा पर्ने तर्क गरेका छन् ।
नेता गोपालमान श्रेष्ठ, चन्द्र भण्डारी लगायतले अहिलेको निकास राजीनामा नभई गम्भीर समीक्षा र संगठनात्मक सुधार भएको बताएका छन् ।
निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट र समानुपातिकतर्फ २० सिट गरी कुल ३८ सिट जित्दै प्रतिनिधिसभाको दोस्रो दल बनेको छ ।
अब केन्द्रीय समिति बैठक बसेर चुनावको विस्तृत समीक्षा गर्ने तयारी भइरहेको नेताहरूले बताएका छन् ।
यसबीच, केही विश्लेषकले थापाले चाहे राजीनामा दिएर पुनः महाधिवेशनमार्फत जनादेश लिन सक्ने तर्क गरेका छन् भने अर्का पक्षले अहिले नेतृत्व स्थिर राखेर पार्टीलाई पुनर्गठन गर्नु आवश्यक रहेको बताइरहेका छन् ।























