काठमाडौं– पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सांसद एवं राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई सडकमा उभिएर पुस्तक बिक्री नगर्न आग्रह गरेका छन् ।
आचार्यले ध्यानाकर्षण गराउँदै पुनलाई अत्यधिक मतसहित विजयी भएकोमा बधाई दिँदै उनको देश र समाजप्रतिको समर्पण, सादगीपन तथा नवप्रवर्तनको अभियानप्रति सम्मान व्यक्त गरेका छन् ।
उनले अनुसन्धान र नवप्रवर्तनका लागि देशभरि घुमेर पुस्तक बिक्री गर्दै जनसमर्थन जुटाइरहेको अभियान सराहनीय रहेको पनि उल्लेख गरेका छन् ।
तर, कुनै पनि वस्तु दर्ता वा आवश्यक अनुमति बिना बिक्री–वितरण गर्नु कानुनी रूपमा जटिल हुन सक्ने भन्दै उनले सडकमा उभिएर पुस्तक बिक्री गर्दा यातायातमा असहजता भएको र अनावश्यक विवाद पनि उत्पन्न भएको बताएका छन् ।
यस्तो अवस्था पुनजस्तो सम्मानित व्यक्तित्वलाई सुहाउने नदेखिएकाले कानुनी प्रक्रिया पालना गर्न अनुरोध गरिएको उनले जनाएका छन् ।























