काठमाडौं– फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना सम्पन्न भएको छ।
निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार पछिल्लो समय गोरखा १ र इलाम १ को मतगणना सकिएसँगै समानुपातिकतर्फ देशभरको मतगणना पनि टुंगिएको हो।
उनका अनुसार मतगणना सम्पन्न भए पनि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा आधिकारिक विवरण प्राप्त हुने क्रम भने जारी छ।
मतगणना सकिएसँगै समानुपातिकतर्फ राजनीतिक दलले पाउने सिट संख्या निर्धारण गर्ने प्रक्रिया पनि सुरु गरिएको आयोगले जनाएको छ। यो प्रक्रिया केही दिनभित्रै टुंगिने अपेक्षा गरिएको छ।
निर्वाचन आयोगका अनुसार आज बिहान ११ बजेसम्म समानुपातिकतर्फ कुल एक करोड ७ लाख ३९ हजार १ सय १५ मत गणना भएको छ।
गणना भएको मतमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी ५१ लाख ३९ हजार २ सय ३५ मतसहित अग्रस्थानमा रहेको छ।
त्यसपछि नेपाली काँग्रेस ले १७ लाख ४९ हजार ५ सय ८३, नेकपा (एमाले) ले १४ लाख ४८ हजार ८ सय ५४, नेपाली कम्युनिष्ट पार्टी ले ८ लाख ५ हजार ७ सय ७३ मत प्राप्त गरेका छन्।
त्यसैगरी श्रम संस्कृति पार्टी ले ३ लाख ७८ हजार ६ सय ४९ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ले ३ लाख २९ हजार ४ सय ७२ मत प्राप्त गरेका छन्।
अन्य दल भने समानुपातिक प्रणालीको थ्रेसहोल्ड कटाउने अवस्थामा नदेखिएको आयोगले जनाएको छ।























