काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीसँगै दायर गरिएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अभियोग पत्र फिर्ता गर्ने निर्णयविरुद्ध परेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।
सर्वोच्च अदालतले उक्त रिटमाथि सुनुवाइका लागि न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासमा पेसी तोकेको छ।
महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेविरुद्ध विभिन्न जिल्लामा विचाराधीन सहकारी ठगी प्रकरणसँगै दायर गरिएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा हटाउन जिल्ला सरकारी वकिल कार्यालयहरूलाई निर्देशन दिएकी थिइन्। उक्त निर्देशनपछि सो निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको हो।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल ‘सफल’ले महान्यायाधिवक्ताको निर्णय गैरकानुनी भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
महान्यायाधिवक्ता भण्डारीले गत पुस ३० गते सदर गरेको सात पृष्ठ लामो ‘टिप्पणी र आदेश’मार्फत लामिछानेलाई सहकारी ठगीमा मात्र मुद्दा चलाउने र सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा हटाउन जिल्ला सरकारी वकिल कार्यालयहरूलाई निर्देशन दिएकी थिइन्।
उक्त निर्देशनका आधारमा कास्की र रुपन्देहीका सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा अभियोग पत्र संशोधनका लागि निवेदन दिएका छन्। तर सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेका कारण ती अदालतहरूमा हालसम्म सुनुवाइ हुन सकेको छैन।
यस्तै, महान्यायाधिवक्ताको निर्देशनअनुसार काठमाडौँ र पर्साका सरकारी वकिल कार्यालयहरूले भने लामिछानेसहितको अभियोग पत्र संशोधनका लागि जिल्ला अदालतमा हालसम्म निवेदन दर्ता गरेका छैनन्।























