काठमाडौं– प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा उल्लेखनीय सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का १२५ सांसदमध्ये ४२ जना भने विभिन्न पुराना राजनीतिक दल छाडेर आएका उम्मेदवार हुन्।
निर्वाचनको मुखमै दल परिवर्तन गर्दै रास्वपाबाट उम्मेदवार बनेका उनीहरूले प्रभावशाली पुराना नेताहरूलाई पराजित गर्दै संसद् प्रवेश गरेका हुन्। दल बदल्दै विजयी हुनेमध्ये सबैभन्दा धेरै मधेश प्रदेशका १७ जना छन्।
रास्वपामा आउने नेतामध्ये सर्वाधिक १९ जना नेपाली कांग्रेसबाट आएका छन्। त्यसपछि नेकपाबाट ५ जना, एमालेबाट १ जना र अन्य मधेशकेन्द्रित तथा क्षेत्रीय दलबाट आएका नेता छन्।
मधेशमा सबैभन्दा धेरै प्रभाव
दल बदल्दै रास्वपाबाट चुनाव जित्नेमा मधेश प्रदेश अग्रस्थानमा देखिएको छ। सप्तरी, धनुषा, महोत्तरी, रौतहट, बारा र पर्सा लगायतका जिल्लामा पुराना दल छाडेका नेताहरूले रास्वपाको टिकट लिएर चुनाव जितेका छन्।
सुनसरी–४ मा कांग्रेस नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पराजित गर्ने दीपककुमार साह केही समयअघिसम्म सीके राउत नेतृत्वको जनमत पार्टीमा सक्रिय थिए। पार्टीसँग विवाद भएपछि उनले नयाँ दल गठन गर्ने प्रयास गरे पनि अन्ततः रास्वपा प्रवेश गरेर चुनाव जिते।
त्यस्तै, पूर्वपत्रकार सन्तोष राजवंशीले विराटनगर क्षेत्रबाट कांग्रेस महामन्त्री गुरुराज घिमिरे, नेकपाका पूर्वमन्त्री अमनलाल मोदी र एमाले नेता जीवन घिमिरेलाई पराजित गर्दै चर्चा कमाए। उनी उम्मेदवारी मनोनयनभन्दा करिब एक साताअघि मात्र रास्वपामा प्रवेश गरेका थिए।
सप्तरी–२ का रामजी यादव, सप्तरी–३ का अमरकान्त चौधरी, सप्तरी–४ का सीताराम साह, धनुषा–२ का रामविनोद यादव, धनुषा–४ का राजकिशोर महतो, महोत्तरी–१ का प्रमोदकुमार महतो र महोत्तरी–३ का उज्ज्वलकुमार झा पनि विभिन्न मधेशवादी दल छाडेर रास्वपाबाट निर्वाचित भएका छन्।
रौतहट–१ का राजेशकुमार चौधरीले एमाले, कांग्रेस र नेकपाका शीर्ष नेताहरूलाई हराउँदै ठूलो मतान्तरले जित निकाले। रौतहट–३ का रवीन्द्र पटेल र रौतहट–४ का गणेश पौडेल पनि मनोनयनअघि रास्वपा प्रवेश गरेर विजयी भएका हुन्।
काठमाडौं र आसपासमा पनि दल बदल्ने
काठमाडौं–२ का सुनील केसी राप्रपाका पूर्वनेता हुन् भने काठमाडौं–१० का प्रदीप विष्ट कांग्रेस पृष्ठभूमिका हुन्। भक्तपुर–२ का रुकेश रञ्जित एमाले पृष्ठभूमिबाट आएका हुन्।
काभ्रे–१ का बदनकुमार भण्डारी एकीकृत समाजवादी त्यागेर रास्वपाबाट उम्मेदवार बनेका थिए। धादिङ–२ का बोधनारायण श्रेष्ठ पूर्वमाओवादी समर्थक मानिन्छन्।
गण्डकी र लुम्बिनीमा पनि प्रभाव
तनहुँ–१ मा स्वर्णिम वाग्ले, तनहुँ–२ मा श्रीराम न्यौपाने, पर्वतका सागर भुसाल, बागलुङ–१ का सुशील खड्का, कास्की–२ का उत्तमप्रसाद पौडेल र स्याङ्जा–१ का धनञ्जय रेग्मी सबै कांग्रेस पृष्ठभूमिबाट रास्वपामा प्रवेश गरेर चुनाव जितेका हुन्।
पश्चिम नवलपरासी–१ का विक्रम खनाल र पश्चिम नवलपरासी–२ का नरेन्द्र गुप्ता पनि कांग्रेस छाडेर रास्वपाबाट निर्वाचित भएका छन्।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा पनि उस्तै प्रवृत्ति
दाङ–१ का देवराज पाठक, बाँके–३ का खगेन्द्र सुनार, बर्दिया–१ का ठाकुरसिंह थारू, बर्दिया–२ का श्रीधर पोखरेल लगायतले पुराना दल छाडेर रास्वपाबाट चुनाव जितेका छन्।
कर्णाली प्रदेशमा भने रास्वपाले एउटा मात्रै सिट जितेको छ। सुर्खेत–२ बाट रमेशकुमार सापकोटा विजयी भएका हुन्।
सुदूरपश्चिममा कैलाली–१ की कोमल ज्ञवाली, डडेलधुराका डा. ताराप्रसाद जोशी, बैतडीका हरिमोहन भण्डारी र कञ्चनपुर–३ का ज्ञानेन्द्रसिंह महता पनि विभिन्न दल छाडेर रास्वपाबाट निर्वाचित भएका छन्।
‘परिवर्तन’को नारासँग जोडिए
पुराना दल परित्याग गरेर रास्वपामा पुगेका अधिकांश नेताले जनताको परिवर्तनको चाहनालाई प्रतिनिधित्व गर्न आफूहरूले नयाँ दल रोजेको बताएका छन्।
निर्वाचनको ठीकअघि दल बदल्दा जोखिम भए पनि जनताले पुराना दलप्रति असन्तुष्टि देखाउँदै नयाँ विकल्पका रूपमा रास्वपालाई समर्थन गरेको विश्लेषण गरिएको छ।























