images
images
  • स्वीट्जरल्याण्डमा गुडिरहेको बसमा आगलागीको घटना रहस्यमय, ६ जनाको मृत्यु

    काठमाडौं- पश्चिमी स्वीट्जरल्याण्डको एक व्यस्त सहरमा गुडिरहेको बसमा अचानक भीषण आगलागी हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ।

    फ्रिबोर्ग क्यान्टन अन्तर्गत पर्ने केर्जर्स सहरको केन्द्रमा मंगलबार स्थानीय समय अनुसार साँझ ६स्२५ बजे यो दुर्घटना भएको हो।

    राजधानी बर्नबाट करिब २० किलोमिटरको दुरीमा रहेको यस क्षेत्रमा भएको आगलागीमा परी अन्य कैयौँ मानिस घाइते भएका छन्।

    घटनालगत्तै उद्धारका लागि पुगेका प्रहरी र स्वास्थ्यकर्मीका अनुसार घाइतेमध्ये तीन जनालाई तत्काल नजिकैको अस्पताल पुर्‍याइएको छ।

    उद्धार कार्यमा खटिएका एक व्यक्तिसमेत घाइते भएको बताइएको छ। प्रत्यक्षदर्शीहरूका अनुसार बसबाट निकै ठूलो र बाक्लो कालो धुवाँको मुस्लो निस्किएको थियो, जसले गर्दा केही समय सो क्षेत्र पूर्ण रूपमा त्रसित बनेको थियो।

    स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेको भिडियोमा बस दनदनी बलिरहेको र मानिसहरूको भागदौड मच्चिएको देखिन्छ।

    यो घटना कसरी भयो भन्नेबारे अहिले नै आधिकारिक पुष्टि भइसकेको छैन, तर प्रहरीले यसलाई गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको छ।

    प्रारम्भिक अपुष्ट रिपोर्टहरूले यो घटना योजनाबद्ध हुनसक्ने सङ्केत गरेका छन्।

    केही प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै आएका खबरहरूका अनुसार, बसभित्रै एक व्यक्तिले आफैँमाथि पेट्रोल छर्केर आगो लगाएका थिए।

    यद्यपि, अधिकारीहरूले यो कुराको आधिकारिक पुष्टि गर्न बाँकी रहेको बताएका छन्। आगलागी संयोगवश भएको हो वा कसैले जानीजानी गराएको हो भन्ने पाटोबाट अनुसन्धान टोलीले सूक्ष्म अध्ययन थालेको छ।

    उक्त बस केर्जर्सभन्दा १७ किलोमिटर दक्षिणमा रहेको डुडिन्जेन नगरपालिकाबाट आएको जानकारी प्राप्त भएको छ।

    सहरको मुटुमै यस्तो भयानक दृश्य देखेपछि स्थानीय बासिन्दा स्तब्ध बनेका छन्।

    प्रहरीले अहिले घटनास्थललाई घेरा हालेर प्रमाण सङ्कलन गरिरहेको छ भने मृतकहरूको सनाखत गर्ने प्रक्रिया पनि अगाडि बढाइएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images