images
images
  • आपतकालीन तेल भण्डार खोल्दा पनि विश्व तेल संकट समाधान नहुने

    काठमाडौं- अमेरिका र इजरायलको इरानसँग जारी युद्धका कारण विश्व बजारमा तेलको मूल्य आकासिँदै गएपछि ठुला अर्थतन्त्र भएका देशहरूले आपतकालीन तेल भण्डार बजारमा पठाउने विकल्पबारे छलफल सुरु गरेका छन् ।

    तर यस्तो कदमले अहिलेको संकट समाधान गर्न नसक्ने चेतावनी विज्ञहरूले दिएका छन् ।

    विश्वका प्रमुख औद्योगिक देशहरूको समूह जी–७ ले करोडौँ ब्यारेल तेल आपतकालीन रूपमा बजारमा ल्याउने सम्भावनाबारे संकेत गरेका छन् ।

    तर यसबारे अहिलेसम्म कुनै औपचारिक निर्णय भने भएको छैन ।

    युद्धका कारण लगानीकर्ताहरू आतंकित भएपछि अन्तर्राष्ट्रिय तेल बजारमा मूल्य तीव्र रूपमा बढेको छ ।

    त्यसपछि विश्वका ठुला अर्थतन्त्रहरूले आफ्ना रणनीतिक भण्डारबाट तेल निकालेर बजारमा पठाउने विकल्पबारे विचार गरिरहेका छन् ।

    तर विश्वको दैनिक तेल खपत अत्यन्त ठुलो भएकाले केही करोड ब्यारेल तेल एकपटक बजारमा पठाउँदा त्यसले दीर्घकालीन प्रभाव पार्न नसक्ने ऊर्जा क्षेत्रका विज्ञहरू भन्छन् ।

    विज्ञहरूका अनुसार विश्वले दैनिक करोडौँ ब्यारेल तेल प्रयोग गर्छ । त्यसैले एकपटक ठुलो परिमाणमा तेल बजारमा पठाए पनि त्यसले आपूर्ति संकटलाई लामो समयसम्म सन्तुलनमा ल्याउन सक्दैन ।

    विशेषगरी अहिले मध्यपूर्वको महत्त्वपूर्ण समुद्री मार्ग होर्मुज जलडमरूमा ठप्पप्रायः भएको अवस्थामा समस्या अझ गम्भीर बनेको छ ।

    यो जलडमरू विश्व तेल आपूर्तिको प्रमुख मार्ग हो । विश्वभर खपत हुने करिब २० प्रतिशत तेल यही साँघुरो समुद्री मार्ग हुँदै ढुवानी हुन्छ ।

    युद्धका कारण अहिले त्यहाँ ट्यांकरहरूको आवतजावत लगभग ठप्प भएको छ ।

    यसअघि सन २०२२ मा रूसले युक्रेनमाथि आक्रमण गरेपछि पनि तेल मूल्य तीव्र रूपमा बढेको थियो। त्यस बेला जी–७ देशहरूले संयुक्त रूपमा २४ करोड ब्यारेल तेल आपतकालीन भण्डारबाट बजारमा पठाएका थिए ।

    त्यसमध्ये अमेरिकाले मात्रै आफ्नो रणनीतिक पेट्रोलियम भण्डारबाट १८ करोड ब्यारेल तेल निकालेको थियो ।

    त्यसपछि पेट्रोलको मूल्य केही घट्यो । तर यसको प्रभाव सीमित मात्र भएको विज्ञहरू भन्छन् ।

    अमेरिकी अर्थ मन्त्रालयले २०२२ को जुलाईमा गरेको अध्ययनअनुसार उक्त कदमले पेट्रोलको मूल्य प्रतिग्यालोन १७ सेन्टदेखि ४२ सेन्टसम्म मात्र घटाएको थियो ।

    अहिले तेलको मूल्य घटाउने सबैभन्दा महत्त्वपूर्ण उपाय भनेको होर्मुज जलडमरू पुनः खोल्नु नै भएको ऊर्जा विज्ञहरू भन्छन् ।

    जबसम्म यो समुद्री मार्ग सुरक्षित रूपमा सञ्चालनमा आउँदैन, तबसम्म विश्व बजारमा तेल आपूर्ति सहज नहुने र मूल्यमा दबाब कायम रहने उनीहरूको भनाइ छ ।

    विशेषगरी मध्यपूर्वबाट एशिया, युरोप र विश्वका अन्य भागमा तेल पठाउन यही मार्ग अत्यन्त महत्वपूर्ण भएकाले यसको अवरोधले विश्व अर्थतन्त्रमा ठुलो असर पार्ने सम्भावना रहेको छ । -एजेन्सी

    प्रतिक्रिया दिनुहोस्
    images
    images