images
images
  • नयाँ सरकार गठनको मुखैमा डा.बाबुराम भट्टराई भारत जाँदै, फर्किएर राष्ट्रपति बन्लान् ?

    काठमाडौं– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भोलि (बुधबार) भारत जाने भएका छन् ।

    नयाँदिल्लीमा आयोजना हुन लागेको ‘एनएक्सटी २०२६’ ग्लोबल समिटमा सहभागी हुन उनी भारत जान लागेका हुन् ।

    उनको सचिवालयका अनुसार नयाँदिल्लीस्थित भारत मण्डपममा मार्च १२, १३ र १४ मा उक्त समिट आयोजना हुँदैछ ।

    कार्यक्रममा डा. भट्टराई ‘गेस्ट अफ अनर’ का रूपमा सहभागी हुनेछन् ।

    आयोजकका अनुसार समिटमा विश्वका विभिन्न देशका नीति–निर्माता, सांसद, प्रविधि विज्ञ, व्यवसायी तथा प्रतिष्ठित शैक्षिक क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहनेछ ।

    सम्मेलनमा विश्व शासन, प्रविधि, अर्थतन्त्र, शिक्षा, सुरक्षा, स्वास्थ्य, वातावरण तथा अन्तर्राष्ट्रिय सम्बन्ध जस्ता समसामयिक विषयमा व्यापक छलफल हुने कार्यक्रम रहेको छ ।

    यस समिटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुने बताइएको छ ।

    विभिन्न देशका सांसद, नीति–निर्माता, विज्ञ तथा युवा प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहने यस सम्मेलनलाई समसामयिक वैश्विक बहस र सहकार्यका लागि महत्वपूर्ण मञ्चका रूपमा हेरिएको छ ।

    डा. भट्टराईले मार्च १४ मा हुने ‘डेमोक्रेसी इन द एज अफ एआईएमः डिजिटल गभर्नेन्स एन्ड द युथ’ शीर्षकको सत्रमा सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

    समिटमा सहभागिता जनाएपछि उनी सोही दिन स्वदेश फर्कनेछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images