काठमाडौं– जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङविरुद्ध ज्यानसम्बन्धी कसुरमा कारबाही गर्न सिफारिस गरेको छ ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले करिब साढे पाँच महिनाको अनुसन्धानपछि आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको हो ।
आयोगले भदौ २३ र २४ गते भएका घटनाको छानबिन गरी सत्यतथ्य पत्ता लगाएर कारबाही सिफारिस गर्ने अधिकार पाएको थियो ।
आयोग स्रोतका अनुसार प्रतिवेदनमा ओली, लेखक र खापुङलाई फौजदारी अपराध संहिता २०७४ को दफा १८१ अनुसार ‘लापरबाहीपूर्ण काम गरी मार्न नहुने’ कसुरमा कारबाही सिफारिस गरिएको छ ।
यस दफाअनुसार दोषी ठहरिए ३ देखि १० वर्षसम्म कैद र ३० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्छ ।
प्रतिवेदनमा काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल, तत्कालीन एसएसपी (हालका डीआईजी) विश्वराज अधिकारीसहित जिल्ला सुरक्षा समितिका अन्य अधिकारीमाथि पनि कसुरअनुसार अनुसन्धान र कारबाही सिफारिस गरिएको बताइएको छ ।
आयोगका अध्यक्ष कार्कीका अनुसार २३ गतेको प्रदर्शनमा गोली चलाउने, चलाउन आदेश दिने वा रोक्न नसक्ने जिम्मेवार सबैलाई कारबाही सिफारिस गरिएको छ ।
साथै २४ गते भएका प्रहरी हत्या, आगजनी, तोडफोड र लुटपाटमा संलग्न व्यक्तिलाई पनि कानुनी दायरामा ल्याउन भनिएको छ ।
प्रतिवेदन मन्त्रिपरिषद् बैठकमा पेश भएपछि त्यसको कार्यान्वयन र सार्वजनिकबारे निर्णय हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।























