images
images
  • कुन–कुन पार्टी बने राष्ट्रिय दल ? कुलमानको उनेपा र सन्तोषको प्रलोपा बन्न सकेनन् किन ?

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थापनाको तीन वर्षमै प्रतिनिधिसभा निर्वाचनमा ऐतिहासिक सफलता हासिल गरेको छ। प्रत्यक्षतर्फको मतगणना सकिँदा रास्वपाले करिब तीनचौथाइ सिट जितेको देखिएको छ।

    प्रतिनिधिसभाको प्रत्यक्ष प्रणालीअन्तर्गतका १६५ निर्वाचन क्षेत्रमा भएको निर्वाचनमा रास्वपाले १२५ सिट जितेको छ, जुन कुल सिटको ७५.७५ प्रतिशत हो। यो परिणामसँगै रास्वपा संसद्को सबैभन्दा ठूलो दल बनेको छ।

    प्रत्यक्षतर्फको परिणामअनुसार नेपाली कांग्रेस ले १८ सिट जित्दै दोस्रो स्थानमा सीमित भएको छ। अघिल्लो प्रतिनिधिसभामा पहिलो दल बनेको कांग्रेसका लागि यो परिणाम निकै कमजोर मानिएको छ।

    त्यसैगरी नेकपा एमाले यसपटक खुम्चिँदै प्रत्यक्षतर्फ केवल ९ सिटमा सीमित भएको छ। नेपाल कम्युनिस्ट पार्टी ले ७ सिट जितेको छ भने राष्ट्रिय श्रम संस्कृति पार्टी ले ३ सिट हात पारेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी ले १ सिट जितेको छ।

    समानुपातिकतर्फ मतगणना जारी रहँदा हालसम्म करिब एक करोड मत गणना भइसकेको छ। उपलब्ध परिणामअनुसार रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपामात्र ‘थ्रेसहोल्ड’ पार गर्दै राष्ट्रिय दल बन्ने निश्चितजस्तै देखिएको छ। मधेशमा प्रभाव जमाएका दलहरू भने यसपटक थ्रेसहोल्ड कटाउन नसक्ने अवस्थामा पुगेका छन्।

    जेनजी आन्दोलनपछि संसद् विघटन गरेर घोषणा गरिएको यो निर्वाचन निर्धारित मिति २१ फागुनमै सम्पन्न भएको थियो र हाल अन्तिम परिणाम सार्वजनिक भइरहेको छ।

    यसैबीच, स्वतन्त्र उम्मेदवारका रूपमा महावीर पुन ले चुनाव जितेका छन्। धनुषा क्षेत्र नम्बर–१ को परिणाम भने विवादका कारण रोकिएको थियो। निर्वाचन आयोग ले रास्वपाका उम्मेदवारको उम्मेदवारी खारेज गर्ने निर्णय गरेपछि सो क्षेत्रमा सबैभन्दा बढी मत ल्याएका नेकपाका उम्मेदवारलाई विजयी घोषणा गर्ने तयारी गरेको छ। यस विषयमा सर्वोच्च अदालत ले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो।

    आचारसंहिता निष्क्रिय

    निर्वाचन सम्पन्न भएसँगै आयोगले प्रतिनिधिसभा तथा राष्ट्रियसभा निर्वाचनका लागि लागू गरिएको निर्वाचन आचारसंहिता सोमबार मध्यरातदेखि निष्क्रिय भएको जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई का अनुसार ४ माघ राति १२ बजेदेखि लागू गरिएको आचारसंहिता अब लागू नहुने निर्णय गरिएको हो।

    ५ चैतसम्म समानुपातिक सांसदलाई प्रमाणपत्र

    निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फको मतगणना बुधबारसम्म सम्पन्न हुने अपेक्षा गरिएको छ। त्यसपछि थ्रेसहोल्ड पार गरेका दलले पाएको मतका आधारमा समानुपातिक सिट बाँडफाँट गरिनेछ।

    आयोगले समानुपातिक प्रणालीअन्तर्गत ‘क्लस्टर’अनुसार प्रतिनिधित्व सुनिश्चित गर्दै दलहरूलाई सांसदको नाम सिफारिस गर्न पत्राचार गर्नेछ। सबै प्रक्रिया पूरा गरेर आगामी ५ चैतसम्म निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण गरिने आयोगले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images