images
images
  • स्वास्थ्य संस्थामा पहुँच नहुँदा बाटोमै सुत्केरीले जन्माइन् शिशु

    काठमाडौं- बाजुरामा एक महिलाले बाटोमै नवजात शिशु जन्माएकी छन् ।

    जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका-२ भैसागाडकी एक महिलाले स्वास्थ्य संस्था पुग्न नपाउँदै बाटोमै नवजात शिशु जन्माएकी हुन् ।

    प्रसूति व्यथा सुरु भएपछि उनलाई परिवारले फयालगाउँ आधारभूत स्वास्थ्य इकाइतर्फ लैजाँदै गर्दा बाटोमै सुत्केरी भएकी बताइएको छ ।

    स्वास्थ्य संस्था पुग्न नसक्ने अवस्था भएपछि त्यहाँ कार्यरत स्वास्थ्यकर्मी विस्ना रोकाया घटनास्थलमै पुगेर सुरक्षित प्रसूति गराएकी थिइन् ।

    स्थानीयका अनुसार कठिन भौगोलिक अवस्था र स्वास्थ्य संस्था टाढा भएकाले महिलालाई समयमै अस्पताल पुर्‍याउन नसक्दा बाटोमै सुत्केरी हुनुपरेको हो ।

    स्वास्थ्यकर्मी रोकायाले तत्कालै आवश्यक स्वास्थ्य सेवा प्रदान गरेपछि आमाले सुरक्षित रूपमा बच्चा जन्माएकी थिइन् । आमा र नवजात शिशुको अवस्था सामान्य रहेको जनाइएको छ ।

    स्वास्थ्य कार्यालय कैलाली प्रमुख रमेश कुँवरले सामाजिक सञ्जालमा उक्त फोटो सेयर गर्दै ‘दुरदराजमा गार्हो छ । स्वास्थ्य संस्था टाढा छन् । स्वास्थ्य संस्थासम्म समयमै बोकेर लैजान युवाहरु छैनन ! केही समय अगाडि नै प्रसुती केन्द्रमा गएर बस्न रुचाउदैनन !’ भनेर लेखेका छन् ।

    स्थानीय बासिन्दाका अनुसार दुर्गम क्षेत्रका कारण गर्भवती महिलाहरूलाई समयमै स्वास्थ्य संस्थासम्म पुर्‍याउन समस्या हुने गरेको छ ।

    सडक र यातायातको सुविधा अभावका कारण अझै पनि धेरै महिलाले घरमै वा बाटोमै बच्चा जन्माउने अवस्था रहेको उनीहरूको भनाइ छ ।

    स्वास्थ्य क्षेत्रमा पहुँच विस्तार भए पनि दुर्गम बस्तीहरूमा अझै सुरक्षित प्रसूति सेवामा चुनौती देखिएको यो घटना एउटा उदाहरण भएको स्थानीयले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images