काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थापनाको तीन वर्षमै प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ तीनचौथाइ मत हासिल गरेको छ ।
प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएर समानुपातिकतर्फ एक करोड मतगणना सकिँदा ६ वटा दलमात्र राष्ट्रिय दल बन्ने पक्का देखिएको छ ।
गणना बाँकी सबै मत कुनै एउटा दलले मात्र ल्याउँदा पनि अब ६ भन्दा बढीले ‘थ्रेसहोल्ड’ कटाउन नसक्ने अवस्था देखिएकाले ६ दलमात्र राष्ट्रिय दल बन्ने भएका हुन् ।
रास्वपालाई प्रत्यक्षमा तीनचौथाइ मत
प्रत्यक्षतर्फ तीनचौथाई मत पाए पनि समानुपातिक अनुपातले रास्वपालाई समग्रमा दुईतिहाइ मत पुग्न भने सकस हुने देखिएको छ ।
रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपामात्र राष्ट्रिय दल बन्ने भएका छन् ।
विगतमा मधेशमा राम्रो पकड बनाएका कुनै पनि मधेशवादी दलले ‘थ्रेसहोल्ड’ कटाउन नसक्ने देखिएको छ ।
जेनजी आन्दोलनपछि संसद् विघटन गर्दै घोषणा गरिएको निर्वाचन तोकिएको मिति २१ फागुनमै सम्पन्न भई परिणाम सार्वजनिक भइरहेको छ ।
प्रत्यक्षतर्फको परिणामअनुसार रास्वपाले तीन चौथाइभन्दा बढी अर्थात् १२५ सिट ल्याएको छ । प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमा १२५ जित्दा ७५.७५ प्रतिशत हुन आउँछ ।
आयोगका अनुसार प्रत्यक्षतर्फ नेपाली कांग्रेसले १८ स्थानमा विजय हासिल गरेको छ । अघिल्लो प्रतिनिधिसभामा पहिलो दल नेपाली कांग्रेसको यो कमजोर परिणामसहित दोस्रो भएको हो ।
२०७९ को निर्वाचनमा दोस्रो ठूलो दल रहेको नेकपा एमाले खुम्चिएर प्रत्यक्षतर्फ ९ सिटमा सीमित भएको छ ।
नेपाली कम्युनिस्ट पार्टीले ८ सिट हात पारेको छ ।
निर्वाचनका लागि दल दर्ता गरेको राष्ट्रिय श्रम संस्कृति पार्टीले ३ सिट हात पारेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट जितेको छ ।
५ चैतसम्म समानुपातिकलाई प्रमाणपत्र
निर्वाचन आयोगले आगामी ५ चैतसम्ममा समानुपातिक प्रणालीतर्फको निर्वाचित प्रमाणपत्र हस्तान्तरण गरिसक्ने जनाएको छ ।
आयोग प्रवक्ता भट्टराईले बुधबारसम्ममा समानुपातिकतर्फको सम्पूर्ण मतगणना सम्पन्न हुने बताएका छन् ।
मतगणनाअनुसार ‘थ्रेसहोल्ड’ पार गरेका दलले प्राप्त गरेको मतका आधारमा आयोगले सम्बन्धित दलको तर्फबाट निर्वाचित हुने सांसद संख्या निर्धारण गरिनेछ ।
आयोगले निर्धारण गरेको संख्यामा समानुपातिक ‘क्लस्टर’अनुसारको प्रतिनिधित्व हुनेगरी निर्वाचित हुने सांसदको नाम सिफारिस गर्न राजनीतिक दललाई पत्राचार गरी आगामी ५ चैतसम्ममा निर्वाचित प्रमाणपत्र दिने जनाएको छ । -पत्रपत्रिकाबाट























