काठमाडौं– प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाभन्दा कमजोर परिणाम आएपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्र नेतृत्व परिवर्तनको बहस सुरु भएको छ ।
पार्टीका उपाध्यक्ष विष्णु पौडेल, उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङ लगायतका नेताहरूले निर्वाचन परिणामको जिम्मेवारी शीर्ष नेतृत्वले लिनुपर्ने भन्दै अध्यक्ष केपी शर्मा ओलीले मार्गप्रशस्त गर्नुपर्ने धारणा व्यक्त गर्न थालेका छन् ।
पराजयपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पौडेलले पार्टीभित्र गम्भीर समीक्षा गर्दै नीति, नेतृत्व र संगठन पुनर्गठन आवश्यक रहेको बताएका छन् ।
रूपन्देहीमा मतगणना भइरहेका बेला उनले स्थानीय तथा केन्द्रीय नेतासँग छलफल गर्दै पार्टी अहिलेको अवस्थाबाट अगाडि बढ्न नेतृत्व परिवर्तन आवश्यक हुनसक्ने संकेत दिएका थिए ।
उपाध्यक्ष गुरुङले पनि अध्यक्ष ओलीले स्वेच्छाले राजीनामा दिएर नयाँ नेतृत्वलाई अवसर दिनुपर्ने धारणा व्यक्त गरेका छन् ।
आवश्यक परे कार्यवाहक नेतृत्वबाट स्थानीय र प्रदेश निर्वाचनसम्म पार्टी चलाएर त्यसपछि विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने विकल्पबारे पनि छलफल भइरहेको स्रोतले जनाएको छ ।
उपमहासचिव योगेश भट्टराईले भने निर्वाचन परिणामले पार्टीको नीति र नेतृत्वप्रति जनताले असन्तुष्टि व्यक्त गरेको भन्दै व्यापक आत्मसमीक्षा आवश्यक रहेको बताएका छन् ।
निर्वाचनमा कमजोर प्रदर्शनपछि एमालेभित्र निराशा बढेको छ ।
प्रत्यक्षतर्फ सीमित सिटमा सिमित भएको एमाले समानुपातिकतर्फ पनि अघिल्लो निर्वाचनको तुलनामा उल्लेख्य मत गुमाएको छ ।























