images
images
  • अरबपति उम्मेदवारहरूलाई छाक टार्न नसक्ने जनताले पत्याएनन्, हराएर पठाइदिए घर

    काठमाडौं– २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा विभिन्न राजनीतिक दलबाट उम्मेदवार बनेका धेरै उद्योगी–व्यवसायीले मतदाताको समर्थन पाउन सकेनन्। आर्थिक क्षेत्रमा स्थापित पहिचान बनाएका कर्पोरेट अनुहारहरू सक्रिय राजनीतिमा प्रवेश गरे पनि चुनावी मैदानमा भने उनीहरू असफल देखिए।

    नेपाली कांग्रेसका डलर अर्बपति उद्योगपति विनोद चौधरी नवलपरासी बर्दघाट सुस्ता पश्चिम–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विक्रम खनालसँग ३५ हजार मतान्तरले पराजित भए। खनालले ४५ हजार २४१ मत ल्याउँदा चौधरीले ९ हजार ५०२ मत मात्रै पाए।

    धादिङ–२ मा कांग्रेसका पर्यटन व्यवसायी रमेशप्रसाद धमला रास्वपाका बोधनारायण श्रेष्ठसँग पराजित भए। श्रेष्ठले २६ हजार १४३ मत पाउँदा धमलाले २० हजार २७७ मत पाए।

    रुपन्देही–२ मा यशोदा फुड्सका अध्यक्ष चुन्नप्रसाद शर्मा पौडेल पनि रास्वपाका सुलभ खरेलसँग पराजित भए। खरेलले ५६ हजार ५५० मत ल्याउँदा पौडेलले ९ हजार ३९२ मत पाए।

    पर्सा–१ मा उद्योगी अनिलकुमार रुँगटा रास्वपाका बुद्धिप्रसाद पन्तसँग पराजित भए भने कपिलवस्तु–३ मा एमालेका उम्मेदवार व्यवसायी वीरेन्द्रप्रसाद कनौडिया कांग्रेसका अभिषेकप्रताप शाहसँग पराजित भए।

    झापा–३ मा अलैँची व्यवसायी संघका पूर्वअध्यक्ष राजेन्द्र घिमिरे रास्वपाका प्रकाश पाठकसँग पराजित भए। धादिङ–१ मा कांग्रेसका पर्यटन व्यवसायी कृष्ण रिजाललाई रास्वपाकी आशिका तामाङले हराइन्।

    काठमाडौं–८ मा ‘स्विट केभ’ का सञ्चालक सुमन सायमी रास्वपाका विराजभक्त श्रेष्ठसँग पराजित भए र उनको जमानतसमेत जफत भयो। त्यस्तै ‘पठाओ’का सञ्चालक असिममानसिंह बस्न्यातले काठमाडौं–१ बाट स्वतन्त्र उम्मेदवारी दिए पनि उनले ५० मत मात्रै पाए।

    यसैगरी विजयबहादुर स्वाँर, डा. सुनिलकुमार शर्मा, भरतराज ढकाल, प्रेमबहादुर खत्री, तिलक रानाभाट, केशव पाण्डे, भुवन श्रेष्ठ, उमाशंकर अरगरिया, दीलिप अग्रवाल लगायतका व्यवसायी उम्मेदवार पनि विभिन्न क्षेत्रमा पराजित भए।

    यस पटकको निर्वाचनले आर्थिक रूपमा शक्तिशाली वा सफल व्यवसायी हुनु मात्र राजनीतिक सफलताको ग्यारेन्टी नहुने सन्देश दिएको विश्लेषकहरू बताउँछन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images